
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसाको आवरणमा भएको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा यही अध्यागमन प्रयोग गरी ठुलो सङ्ख्यामा भारतीय नागरिकसमेत तेस्रो मुलुक पुगेको पाइएको छ ।
भिजिट भिसा प्रकरणले प्रतिनिधि सभा अवरुद्ध छ । पक्ष विपक्षमा भइरहेको बहसले अनुसन्धानको पाटो नै ओझेलमा परेको छ । यहीबिचमा नेपाली मात्र नभई ठुलो सङ्ख्यामा छिमेकी मुलुकका नागरिक पनि भिजिट भिसामा तेस्रो मुलुक पुगेको खुलेको हो ।
अध्यागमन स्रोतबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिकसमेत त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको पाइएको हो । विसं २०७४ फागुनदेखि हालसम्म ७५ हजार ८६४ जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलङ्कालगायतका मुलुकमा पुगेको पाइएको हो । गोरखापत्रमा खबर छ ।