
दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेश प्रदेशको सांस्कृतिक केन्द्र जनकपुरधाम नजिकैको सतलोक आश्रम धनुषामा एउटै मञ्चमा १५ जोडीको दाइजोरहित विवाह गरिएको छ । ६२८औँ कबीर प्रकट दिवसको अवसरमा १५ नव जोडीले एउटै समय र मञ्चमा दाइजोमुक्त आदर्श विवाह गरेका हुन् ।
मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा सोमवारदेखि शुरू भएको तीन दिवसीय महोत्सवअन्तर्गत १५ नव जोडी (जसमध्ये ९ जोडी नेपालका र ६ जोडी छिमेकी भारत बिहारका)ले सामूहिक रूपमा दाइजोमुक्त र अन्तरजातीय विवाह गरेका हुन् ।
आश्रमकाअनुसार वैवाहिक कार्यक्रम जम्मा १७ मिनेटमै असुर निकन्द रमैणी (गुरुवाणी)को मन्त्र उच्चारणसहित सम्पन्न गरिएको थियो ।
दाइजो प्रथाले जरा गाडेको मधेशमै यस्तो दाइजोमुक्त वैवाहिक कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ । जहाँ भारतबाट समेत मानिसहरू आएर सहभागिता जनाइरहेका छन् ।

तीन दिनसम्म चल्ने महोत्सवमा सन्त गरीबदास जी महाराजको अमरवाणीको अखण्ड पाठ, विशाल भण्डारा (नि:शुल्क भोजन), रक्तदान शिविर तथा विशाल सत्सङ्ग भएको आश्रमले जनाएको छ । रक्तदान शिविरमा ६८ युनिटभन्दा बढी रक्तदान भएको आश्रमले जनाएको छ ।