२८ असार २०८३, आइतबार

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २८, २०८२
काठमाडौं
काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

उनका अनुसार सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार भएको भन्ने उजुरी आयोगमा परेको थियो।

अनुसन्धानका क्रममा ढल निकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ। 

आयोगले उक्त कार्यमा परियारका साथै बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक (अधिकृत दशौं तह) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौं तह) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौं तह) वसन्त आचार्य, निर्देशक (अधिकृत दशौं तह) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौं तह) जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक (अधिकृत सातौं) उत्तम दाहालको समेत संलग्नता देखिएको जनाएको छ । 

उक्त ठेक्का समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँमा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ कबोल गरेको पाइएको  सहायक प्रवक्ता थपलियाले जानकारी दिए । 

उक्त ठेक्का प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ दुरुपयोग गरेको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगले उनीहरूविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपरको मागदाबी गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्