
लुटपाटमा संलग्न रौतहटको यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले आज बिहान झाझपुल नजिकै लुकीछिपी बसेका व्यक्तिहरूले रौतहट दुर्गा भगवती गाउँपालिका–३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।
लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकीछिपी बसी रहेका सात/आठ जना अपरिचित व्यक्तिले मोटरसाइकलमा सवार झालाई रोकी उनको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा उनीहरूलाई पक्रेको प्रहरीले जनाएको छ ।
सो घटनामा संलग्न केही पेसेवर लुटेरा भागेका र उनीहरूको खोजी भइरहेका प्रहरी प्रमुख गिरीले जानकारी दिए ।
यसअघि पनि सो क्षेत्रमा लुटेरा समूहले धनमाल लुट्ने गरेको तथा स्थानीयलाई दुःख दिने गरेको र आपराधिक गतिविधि बढेको भन्ने सूचना प्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षा गस्ती बढाइएको पनि प्रहरीले बताएको छ ।
सो घटनामा पक्राउ परेका दुई लुटेरासँग बयान लिने काम भइरहेको र भागेकाहरूको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचैन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।