
प्रहरीले विराटनगरमा फिरौती रकम माग्ने दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिकसँगको मिलेमतोमा किशोरको साथबाट मोबाइल लुटपाट गरेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १६ का १९ वर्षीय प्रलवकुमार विक र दीपक अधिकारी रहेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोकनजिकको टोम एण्ड जेरी होटलमा काम गर्दै आएका थिए । उनीहरूलाई २–३ दिनअघि साथीहरूले भारतको जोगवनी पुर्याएका थिए ।
जोगवनी पुर्याएर प्रज्ञानको साथमा भएको मोबाइल लुटपाट गरिएको थियो । मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजेपछि उनीहरू भागेर नेपाल आएका थिए । प्रारम्भिक अनुसन्धानबाट लुटपाट गरेकै मोबाइलबाट फोन गरेर प्रज्ञानका अभिभावकसँग फिरौतीमा ३० हजार रूपैयाँ मागेको खुलेको छ ।
‘छोरा चाहिन्छ भने ३० हजार पैसा लिएर विराटनगरको बिग होटल छेउमा आउनू’ भनेर फोन आएपछि प्रज्ञानका बुबा खेमप्रताप राईले मंगलबार बिहान इलाका प्रहरी कार्यालय धरानमा खबर गरेका थिए । त्यसलगत्तै मोबाइल लुटपाट गरेर फिरौती माग्नेको खोजीका लागि धरानबाट इन्स्पेक्टर जीवन कुँवर नेतृत्वको टोली विराटनगर आइपुगेको थियो ।
धरानबाट खटिएको टोलीले मोरङ प्रहरीसँग समन्वय गरेर उनीहरूलाई पक्राउ गरेको हो । डीएसपी जबेगूका अनुसार शुरूमा विराटनगर बसपार्कबाट प्रवल र दीपक पक्राउ परेका थिए । तर, उनीहरूले भारत जोगवनीका गोलु सिंहले फिरौती रकम लिन पठाएको बयान प्रहरीलाई दिएका छन् ।
घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसहित विराटनगर–१५ की २० वर्षीया विजेता तामाङलाई इटहरी–१९ तरहराबाट प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले आवश्यक परेका बेला उपस्थित हुने सर्तमा मंगलबार साँझ अभिभावकको जिम्मा लगाएर पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र पीडक साथी–साथी रहेको खुलेको प्रहरी अधिकारी बताउँछन् । ‘शुरूमा उनीहरू सल्लाहमै जोगवनी पुगेको देखिन्छ । तर, त्यहाँ पुगेपछि साथमा भएको मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजिएपछि प्रज्ञान र आशिष भागेर नेपालतिर आएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ,’ डीएसपी जबेगूले भने ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।