०६ असार २०८३, शनिबार

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज विद्युतीय मेसिनबाट मतदान हुने, को-को छन् उम्मेदवार ?

जेठ २९, २०८२
काठमाडौं
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज विद्युतीय मेसिनबाट मतदान हुने, को-को छन् उम्मेदवार ?

नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । 

बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ । 

उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ । 

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । 

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् । 

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउन विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए । राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए । 

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न  समय लाग्ने जनाइएको छ । 

अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि शुरू भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्