पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीबासमा बाढीले डाइभर्सन बगाएको छ । बिनयी खोलामा निर्माण गरिएको डाइभर्सन गएरातिको बाढीले बगाएको हो ।
डाइभर्सन बगाएसँगै राजमार्ग बन्द भएको छ । यात्रुबाहक र साना सवारी साधनलाई होङ्सीगेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।
होङ्सी गेटबाट उत्तर सर्दी हुँदै करिब २५ किलोमिटर घुमाउरो वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको उनले बताए । मालबाहक ठूला सवारी साधनहरू भने रोकिएका छन् ।
पुस २६ गते ओभरलोडको भारतीय लहरीको ठक्करबाट पुल भासिएपछि डाइभर्सनमार्फत् यातायात सञ्चालन हुँदै आएको छ ।
खोलामा पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरिने उनले बताए ।