२२ जेठ २०८३, शुक्रबार
कांग्रेसभित्रको अर्को मोर्चा

कांग्रेसभित्र चासो– सात भाइको नेता को ?

जेठ २९, २०८२
काठमाडौं
कांग्रेसभित्र चासो– सात भाइको नेता को ?

भावी नेतृत्व सुरक्षित गर्न सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै आएका प्रभावशाली ७ नेताले अहिलेसम्म आफ्नै नेता भने चयन गरेका छैनन् । पटक–पटक छलफलमा जुटे पनि यी ७ नेताले साझा नेता नटुंग्याएका हुन् । ​

पारिवारिक विरासतका विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशाांक कोइरालाले शुरू गरेको यो भेटघाट श्रृंखलामा ७ नेता पुगेका छन् । श्रृंखलाबद्ध सामूहिक भेटघाटमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ तथा डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बस्दै आएका छन् ।

उप–सभापति पूर्णबहादुर खड्काले वचन दिए पनि ७ भाइमा मिसिन आएनन् । यद्यपि सात नेताले कसरी हुन्छ देउवामाथि दबाब बढाउने र आफूहरूमध्येबाटै नेता घोषणा गराउने रणनीति अख्तियार गरेका छन् । देउवाको विरोधभन्दा पनि उनलाई रिझाएरै समूहको नेता बन्ने ध्याउन उनीहरूको देखिन्छ ।

सभापतिमाथि दबाब बढाउन मोर्चाबन्दी गरे पनि समूहको नेता को भन्नेमा उनीहरू नै अलमलमा छन् । अब सभापतिमा देउवाको दाबी नहुने निश्चित छ । यसैले देउवाले एक जनालाई अगाडि सार्नैपर्ने हुन्छ । पछिल्ला छलफलमा सक्रियतापूर्वक सहभागी हुँदै आएका नेता निधि तत्काल समयमै महाधिवेशनका लागि आफूहरूले दबाब बढाएको बताउँछन् । 

निधि, सिंह र कोइराला

‘असारसम्म पार्टीले क्रियाशील सदस्यता टुंगो लगाएपछि पार्टीलाई बल्ल औपचारिक रूपमा महाधिवेशन लाग्नेछ,’ निधिले लोकान्तरसँग भने, ‘अहिले हामी आकांक्षी नेताहरू बसेको महाधिवेशन समयमा गर्नका लागि दबाब दिन हो । सदस्यताको अन्तिम सूची सार्वजनिक भएपछि औपचारिक सक्रियता बढ्छ ।’

सात नेताहरू बसेर छलफल गर्ने माहोल बने पनि नेता विशेषको नाममा कुनै समझदारी नजुटेको निधि बताउँछन् । ‘आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने भनेर हामी सामूहिक रूपमा छलफल गर्दै आइरहेका छौं । अहिले आ–आफ्नो तयारी गर्दै जाने र समय आएपछि नेता विशेषको नेतृत्वमा जाने भन्ने अहिलेसम्मको बुझाइ हो,’ निधिले भने, ‘७ जनामध्ये १ जनाको नाममा सहमति होस् भन्ने हाम्रो चाहना छ ।’ 

सातमध्ये निधि, सिंह, शशांक, सिटौला र गोपालमान सभापतिका दाबेदार हुन् । तर, आफूहरूमध्ये को अगाडि बढ्ने भन्नेमा खुलेर छलफल गरिसकेका छैनन् । एकअर्कालाई मानेका छौं भनेर समेत समर्थन दिएका छैनन् । सँगै बैठक बसे पनि एक अर्कालाई स्वीकारिसकेको अवस्थामा छैनन् । 

निधि र सिंह १४ औं महाधिवेशनमा देउवासँग भिडेका उम्मेदवार हुन् । दोस्रो चरणमा भने दुवैले देउवालाई सहयोग गर्दै सभापतिमा जिताएका थिए । सिटौला १३ औं महाधिवेशनमा सभापतिमा उठेका थिए । दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरेका थिए । 

सात नेतामा संस्थापनका पूर्णबहादुर खड्का, संस्थापन इतरका डा. शेखर कोइराला वा गगन थापामध्ये एकलाई देउवाले ‘ग्रीन सिग्नल’ दिन्छन् कि भन्ने डर पनि यो समूहमा देखिन्छ । आफूहरूमध्येबाटै एक जनालाई वचन दिन यसअघि देउवालाई भेटेरै ११ नेताले आग्रह गरेका थिए । सिटौलाको अगुवाइमा २०८१ फागुनमा देउवालाई भेटेरै ११ जनाले यस्तो आग्रह गरेका थिए । शेखर–गगन होइन, आफूहरूमध्ये एकजनालाई वचन दिन उनीहरूको आग्रह थियो ।

सोही भेटबाट शशांक पहिलोपटक औपचारिक रूपमा देउवाको पक्षमा खुलेका थिए । शेखर र गगनले महाधिवेशनको तयारी गर्ने, तर आफूहरूलाई देउवाबाट कुनै वचन प्राप्त नहुने अवस्थाबारे उनीहरूले गुनासो गरेका थिए । तर, देउवाले ‘यही टिमबाट सभापति भएको हुँ, चुपचाप कम गर्नुस्, समय आएपछि एकजनाको नाम यहीँबाट घोषणा गरेर जान्छु,’ भनेका थिए । तर, यीमध्येका ७ नेता देउवाको यो भनाइबाट आश्वस्त हुन सकेका छैनन् । 

गोपालमान कांग्रेस फुट्दादेखि देउवानिकटका सबैभन्दा सिनियर नेता हुन् । शाही शासनमा देउवा जेल पर्दा कार्यबाहक सभापति चलाएका श्रेष्ठ आफू प्रमुख दाबेदार रहेको बताउँछन् । 

‘मेरो दाबेदारी नहुनु पर्ने कारण छैन । समकालीन नेतामा सबैभन्दा सिनियरमा मै हुँ । त्यसैले दाबेदारी रहन्छ नै,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘तर, हामी छलफलमा छौं । नेतृत्वको विषयमा के गर्ने भनेर अहिले नै टुंगो लगाइसकेका छैनौं ।’

सात नेता एक ठाउँमा उभिनु र अरूले पनि चासो दिनुले सकारात्मक वातावरण बनाएको उनी बताउँछन् । ‘कुनै प्रस्ट गतिविधि नभए पनि हामी एक ठाउँमा बस्ने वातावरण बनिरहेको छ । उपसभापति पूर्णजी आउँछु भनेर पनि आउनुभएन,’ श्रेष्ठ भन्छन्, ‘तर, हामीले सहमहामन्त्रसहितका नेतालाई जुटाउने प्रयत्न गरिरहेका छौं ।’

अब केही दिनमै नेता प्रकाशमानको निवासमा छलफल गर्ने तयारीमा यो समूह छ । नेतृत्वको विषय रणनीतिक भएकाले हतारमा नेता तोक्ने विषय उचित नहुने निधि बताउँछन् । 

‘कतिपय प्रक्रियाका कुरा हुन्छन् । नेतृत्व रणनीतिक विषय पनि हो । यसैले हतारिनेभन्दा परिपक्व स्थिति कुनुपर्ने हुन्छ,’ निधिले भने, ‘हामी दाबेदार धेरै नै छौं । समय आएपछि को हुने भनेर खुल्दै जानेछ ।’

श्रेष्ठ र निधिसँगै अर्का बलिया दाबेदार हुन्, शशांक । बीपीपुत्र शशांक अहिलेसम्म सभापतिको उम्मेदवार बनेका छैनन् । १३औं र १४औं महाधिवेशनमा सभापति देउवालाई उनले निःशर्त सघाएका थिए । यसैले यसपटक सभापतिमा उठ्ने तयारीमा शशांक छन् । 

यो टीमका अरू ६ नेताले सभापतिमा उठ्छु भनेर मुख खोलेका छैनन् । तर, शशांकले सार्वजनिक कार्यक्रम र आफू निकटकासँग सभापतिका लागि तयारी गरिरहेको बताउने गरेका छन् । 

‘शशांकलाई नयाँ अनुहार, बीपीको छोरा र गुटबन्दीबाट माथि उठेको भनेर देखाउने बहाना मिलेको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘सिटौजाली आफू अनुभवी छु, देउवा टीमलाई मिलाएर लान सक्ने खुबी छ भन्नेमा हुनुहुन्छ । आरजुले समेत शशांकभन्दा सिटौला ठीक छ भनेपछि उहाँ (सिटौला) उत्साही हुनुहुन्छ ।’

‘उहाँले लगातार पार्टीमा सभापतीय प्रणालीलाई समर्थन गर्नुपर्छ, अनुशासनमा बस्नुपर्छ भन्दै आउनुभएको हो । गुटबन्दीबाट माथि उठ्ने सन्देश उहाँले दिनुभएको छ,’ शशांकनिकट स्रोतले भन्यो, ‘सबैसँग सल्लाह गरेरै उहाँ अगाडि बढ्नुभएको छ । अरू धेरै नेताले यसअघि पनि सभापतिमा दाबेदारी गर्दै प्रतिस्पर्धा गर्नुभएको छ । उहाँले अब म आफैं अगाडि बढ्ने हो भनेपछि अरूले पनि समर्थन गर्नुहुन्छ भन्नेमा हुनुहुन्छ ।’ 

निधिले क्रियाशील सदस्यता छिटो टुंग्याएर २०८३ मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने बताए  ‘हामीले सदस्यतामा ढिला गरिसकेका छौं । अब महामन्त्रीहरूले असारसम्म सदस्यता टुंग्याउँछौं भन्नुभएको छ । यसैले पार्टीले २०८३ मंसिरभित्र महाधिवेशन गर्नैपर्छ,’ निधि भन्छन्, ‘२०८४ को वैशाखमा हुने स्थानीय तह चुनाव र मंसिरमा हुने संघीय–प्रादेशिक चुनावको चापलाई पार्टीले समयमै मनन गर्नुपर्छ । ढिलो हुँदा पार्टीले थुप्रै जलिटता भोग्नुपर्छ ।’

दाबेदारमध्येका नेता कृष्णप्रसाद सिटौलाले पनि परिस्थिति आएपछि सबै कुरा मिलेर जाने बताउने गरेको एक नेता बताउँछन् । 

‘अहिलेसम्म धेरैपटक सामूहिक छलफल गरे पनि नेता विशेषको नाममा सहमति जुटिसकेको छैन भन्नेमा सिटौलाजी हुनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘परिस्थिति आएपछि आफैं मिल्छ, एक जनाको नाममा सहमति हुन्छ, तर हतारिनुहुँदैन भन्नेमा उहाँ हुनुहुन्छ ।’

सिटौलानिकट स्रोतले थप्यो, ‘कसैले चाहँदैमा मै बनिहाल्छु भनेर मात्रै पनि हुँदैन । महाधिवेशनको उभारले जस्तो परिस्थिति हुन्छ, त्यहीअनुसार अगाडि बढ्नुपर्छ भन्ने उहाँको मत छ । उहाँ अन्तिममा कसैले दाबेदारी गर्नै नपरी अटोमेटिक मिल्छ भन्नेमा हुनुहुन्छ ।’

सिटौला

सभापतिमा देउवाको आशीर्वादका लागि शशांक र सिटौलाले सबैभन्दा बढी दाबेदारी अगाडि सारेका छन् ।

‘शशांकलाई नयाँ अनुहार, बीपीको छोरा र गुटबन्दीबाट माथि उठेको भनेर देखाउने बहाना मिलेको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘सिटौजाली आफू अनुभवी छु, देउवा टीमलाई मिलाएर लान सक्ने खुबी छ भन्नेमा हुनुहुन्छ । आरजुले समेत शशांकभन्दा सिटौला ठीक छ भनेपछि उहाँ (सिटौला) उत्साही हुनुहुन्छ ।’

यी दुईबाहेक नेता प्रकाशमान सिंह पनि अर्का बलिया दाबेदारमध्येका हुन् । देउवालाई सभापति बनाउन साथ दिएकाले यसपटक आफूले प्रतिस्पर्धा गर्न पाउनुपर्ने मत उनको छ । 

सिटौला ०८३ सालको दशैंवरिपरि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

२०८३ दशैंको आसपासभन्दा उता जाँदा पार्टीमा झगडा हुने र राजनीतिकरूपमा ठूलो नोक्सानी हुने सिटौलाको मत छ । उपसभापति र महामन्त्रीले महाधिवेशनको तयारी अगाडि नबढाएकोमा सिटौला असन्तुष्ट छन् । 

‘महाधिवेशनका लागि विलम्ब भइसक्यो । तर, उपसभापति र महामन्त्रीको मुख्य काम भए पनि उहाँहरू सचिवालयको रूपमा तयारीमा जुट्नुभएको छैन भन्ने गुनासो उहाँ (सिटौला)को छ,’ उनीनिकट स्रोत भन्छ, ‘कार्यकारी भूमिकामा हुनेले नै महाधिवेशनको माहोल बिगारे र गुटबन्दीमा कुदे भन्ने उहाँको भनाइ छ ।’ 

सिटौलाले देउवा चुपचाप बसिदिँदा शेखर र गगनले महाधिवेशनको तयारी गर्न पाएको संकेत गरेका हुन् । उनीहरू दुवैले सभापतिमा दाबेदारी गरिसकेका छन् । तर, देउवा टीममा को नेता भन्ने सकस नटुंगिँदा उनीहरू अलमलमा परेका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्