
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले कुशवाहालाई बिहीबार अनामनगरबाट नियन्त्रणमा लिएको हो । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित उनको घरमा आयोगले जेठ १२ गते छापा मारेको थियो ।
त्यसैबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई आयोगले नियन्त्रणमा लिएको थियो । आयोग स्रोतका अनुसार कायस्थले कुशवाहाविरुद्ध बयान दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
आयोगको टोलीले यसअघि कुशवाहाको घरबाट विभिन्न योजनाका कागजात र मोबाइल बरामद गरेको थियो । बरामद मोबाइल र कागजात फरेन्सिक ल्याबमा पठाइएको थियो ।
कुशवाहा मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री समेत हुन् ।