
संवैधानिक कानुन व्यवसायी मञ्चले उच्च अदालत जनकपुर, बीरगञ्ज इजलासका न्यायाधीश खुसीराम थारुमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा भर्त्सना गरेको छ।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा मञ्चका अध्यक्ष अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीशहरू इजलासमै रहेका बेला इजलासभित्र प्रवेश गरी आक्रमण गर्नु अत्यन्तै निन्दनीय र अक्षम्य अपराध भएको उल्लेख गरेका छन्।
मञ्चले उक्त घटना केवल निन्दनीय मात्र नभई प्रचलित कानुन अनुसार दण्डनीय पनि रहेको भन्दै, यसले विधिको शासन, शान्ति सुरक्षा र स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरेको चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, "सभ्य समाजका न्यूनतम मानकहरू समेत भत्काउने हदसम्मको अपराध भएको हुँदा यो अक्षम्य छ।"
मञ्चले घटनालाई राजनीतिक आवरणमा लुकाइएको अपराध को संज्ञा दिँदै दोषीहरूलाई कारवाही गर्न राज्य संयन्त्र मात्र नभई सम्बन्धित राजनीतिक दल वा समूहकै संयन्त्रले समेत उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ। अन्यथा, मुलुक राजनीतिकाे अपराधीकरणतर्फ धकेलिने गम्भीर खतरा रहेको मञ्चको चेतावनी छ।
विज्ञप्तिमा थप भनिएको छ, "संवैधानिक लोकतन्त्रका आधारशीला भत्काउने, न्यायपालिकाको स्वतन्त्रता समाप्त पार्ने कार्यको रोकथाम तथा नियन्त्रणका लागि राज्य र नागरिक समाज बीच सहकार्य आवश्यक छ।"
मञ्चले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गर्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन र न्यायाधीशहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।