२२ असार २०८३, सोमबार

विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

जेठ ३१, २०८२
काठमाडौं
विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ । 

ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको अनेरास्ववियुको पहिलो बैठकले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने निर्णय गरेको अध्यक्ष डा सुजन कडरियाले जानकारी दिए । 

शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य गर्दै, शिक्षाजस्तो आधारभूत हकलाई निजीकरणको दुश्चक्रबाट मुक्त गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित हुने नीतिगत अभियानमा अडिग रहने प्रतिबद्धता जनाइएको उनले बताए । 

बैठकले चार सचिवको कार्यविभाजनसमेत गरेको छ । अध्यक्ष डा कडरियाका अनुसार आर्थिक सचिवमा आकाश घर्तिमगर, सङ्गठन सचिवमा गोपाल नेपाल, प्रचार सचिवमा समिमबाबु खान र विदेश सचिवमा रचना सापकोटालाई जिम्मेवारी दिइएको छ । 

कडरियाले ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ पाएको धारणा राखे ।अनेरास्ववियुमा उमेर हद लागू भएपछि ‘जेन जी’ पुस्तासँग सङ्गठनलाई जोड्ने कामले औपचारिक मान्यता पाएको उनले बताए । 

बैठकले नेपालको जनसङ्ख्यामा युवाको अनुपात उच्च रहेकाले यसलाई राष्ट्रनिर्माणमा क्रियाशील बनाउने र स्वदेशमा रोजगारीका अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ न्यूनीकरण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

बिहीबार राति सम्पन्न निर्वाचनबाट डा कडरियाको नेतृत्वमा एक सय ५१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्