
आइतबार देशका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार च्चपहाडी तथा हिमाली भेगमा हिमपात समेत सम्भावना छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । साथै, पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले काठमाडौं उपत्याकसहित बागमती र कोशी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
आइतबार राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यी प्रदेशमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।