२५ असार २०८३, बिहीबार
उडानमा वर्षाको प्रभाव

काठमाडौंमा वर्षाका कारण ‘माउन्टेन फ्लाइट’ रद्द, केही अन्तर्राष्ट्रिय उडानमा ढिलाइ

असार १, २०८२
काठमाडौं
काठमाडौंमा वर्षाका कारण ‘माउन्टेन फ्लाइट’ रद्द, केही अन्तर्राष्ट्रिय उडानमा ढिलाइ
फाइल तस्वीर ।

काठमाडौंमा निरन्तर परिरहेको वर्षाका कारण आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडानमा असर परेको छ । विशेषगरी हिमाली क्षेत्रमा हुने उडान रद्ध वा ढिला भएका छन् भने केही अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएको छ । 

विमानस्थल कार्यालयका अनुसार यति एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरले गर्ने माउन्टेन फ्लाइट मौसमका कारण रद्द भएका छन् । यी कम्पनीले बिहान सबेरै माउन्टेन फ्लाइट गर्ने गरेका थिए । 

लुक्लातर्फ जान लागेका समिट, सीता र तारा एयरका तीन उडान ढिलो भएका छन् । भरतपुर, पोखरा र नेपालगञ्जतिरका उडानका लागि भने बोर्डिङ भइरहेको  छ ।

यसैगरी, अन्तर्राष्ट्रिय आगमनतर्फ टर्किस एयरलाइन्सको इस्तानबुलबाट आएको उडान निर्धारित समयभन्दा ३ मिनेट ढिलो अवतरण भएको छ । एयर इन्डियाको दिल्लीबाट आउने उडान करिब १ घण्टा ५ मिनेट ढिलो हुने देखिएको छ । दुबई, दोहा, दम्माम, शारजाह लगायतका स्थानहरूबाट आउने अन्य उडानहरू पनि निर्धारित समयभन्दा केही ढिलो आउने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय प्रस्थान उडानतर्फ टर्किस एयरलाइन्सको इस्तानबुल जाने उडान अन्तिम तयारीमा रहेको छ भने एयर इन्डियाको दिल्ली जाने उडान ढिलो भएको छ। अन्य एयर अरबिया, फ्लाइ दुबई, ड्रुक एयर, कतार एयरवेज लगायतका उडानहरू ‘चेक-इन’ प्रक्रियामा रहेका छन्।

विमानस्थलका अधिकारीहरूका अनुसार काठमाडौं उपत्यकामा परेको वर्षा, हिमाली भेगमा बादल र कम भिजिबिलटीका कारण आन्तरिक उडान प्रभावित भएका हुन्। यद्यपि, अन्तर्राष्ट्रिय उडानहरूमा भने ठूलो अवरोध देखिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्