
संसद् सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा बजेटमाथिको छलफल अघि बढ्ने विषयमा समेत उल्लेख छ ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत सम्भावित कार्यसूची छ ।
त्यसपछि बैठकमा आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएकोमा बस्न केही ढिला हुने भएको छ ।

प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रहेका प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भएको छलफलमा सदन सञ्चालनका विषयमा कुरा भएपनि रास्वपा र राप्रपा सहमत भएनन् । विपक्षी दलको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको क्यालेन्डर (कार्यतालिका) प्रभावित भएको छ ।
जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेत अघि बढेको छैन ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले संसद् अवरोध गरेका थिए । प्रमुख विपक्षी दल माओवादी केन्द्र सदन खुलाउन सहमत भएपनि रास्वपा र राप्रपाको अवरोध कायमै छ ।
माओवादी सहमत भएसँगै सभामुख घिमिरेले रास्वपा र राप्रपाको विरोधबीच शुक्रबार सदनको कारबाही अघि बढाएका थिए ।