
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधका सन्दर्भमा आज बिहान रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग छलफल गरेका छन्।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा भएको छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल शुरू गर्नैपर्ने बाध्यता रहेको बताउँदै अवरोधको स्वरूप बदल्न आग्रह गरेका थिए ।
उनले संसदलाई मर्यादित बनाउन आवश्यक संवेदनशीलता देखाउनुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन्।
अर्यालले आफूहरूले संसदमा अवरोध जारी राख्ने बताउँदै संसदको मर्यादा कायम राख्न प्रतिबद्ध रहेको बताएका थिए ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएको विषयमा बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका छन्।
टेलिफोन संवादमार्फत सभामुखले अध्यक्ष लिङ्देनसँग संसदमा आफ्ना विषयहरू उठाउने क्रममा सदन सञ्चालनको वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।