
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटले पछिल्लो चार महिनामा एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरीका अवैध समान बरामद भएको हो । नम्बर ११ हेडक्वार्टरका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए ।
‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने, ‘एक थान स्कर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।’
सोही अवधिमा ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस् बरामद भएको नम्बर ११ हेडक्वार्टर कार्यालयले जनाएको छ ।
पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रूपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए । उनका अनुसार त्यसैगरी स्रोत नखुलेको ६ लाख चार हजार ६४० भारतीय रूपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।
मानव बेचबिखनमा पर्न सक्ने आशंकामा नाकाबाट १० जना नेपाली महिला उद्धार गरेको जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागूऔषध पनि बरामद गरिएको बताए ।
हेडक्वार्टर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरी पैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिइएको उनले बताए ।