
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सदन खोल्न तयार भएपछि सभामुख देवराज घिमिरेले संसद्को कारबाही अगाडि बढाएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै रास्वपा र राप्रपा सांसदहरू उठेर विरोध जनाए पनि सभामुख घिमिरेले संसद्को कारबाही अगाडि बढाएका हुन् । रास्वपाले नाराबाजी गरिरहेको समयमा नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका योगेश भट्टराई, ठाकुर गैरेलगायतले आकस्मिक समयमा आफ्ना कुरा राखेका छन् ।
राप्रपाका ज्ञानेन्द्र शाही र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भने संसद्मा अवरोध रहिरहेको समयमा नबोल्ने भन्दै सदन अगाडि बढाइएकोमा विरोध जनाए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने मागसहित विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । शुक्रबारदेखि माओवादी केन्द्र संसद् खोल्न सहमत भएपछि रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् ।
रास्वपा सांसदको नाराबाजीका बाबजुद सभामुखले संसद्को बैठक अगाडि बढाएका छन् । संसद्मा बजेटमाथि छलफलको कार्यसूची छ ।