
मध्यपूर्वमा इजरायल र इरानबीचको द्वन्द्व तीव्र बन्दै गएको छ । क्षेत्रीय स्थायित्वलाई गम्भीर संकटमा पारेको यो युद्धमा दुवैतर्फ सर्वसाधारण नागरिक हताहतीमा परेका छन् ।
इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म इजरायलमाथि गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।
इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ७८ जनाको मृत्यु भएको इरानी पक्षले पुष्टि गरेको छ । तत्काल कुनै समाधानको सम्भावना नदेखिएको यो तनावले मध्यपूर्वको भूराजनीतिलाई थप जटिल बनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक भिडियो सम्बोधनमा इरानविरुद्ध थप कडा सैन्य कारबाही गरिने बताए । उनले भने, 'हामी आयातोल्लाहको शासनका हरेक लक्ष्य र हरेक ठाउँमा आक्रमण गर्नेछौं ।'
इजरायली सैन्य स्रोतको हवाला दिँदै बीबीसीले यो कारबाही केही दिन मात्र होइन, केही हप्तासम्म चल्ने जनाएको छ ।
अमेरिकाले यो द्वन्द्वमा इरानविरुद्ध इजरायलको मौन समर्थन गरेको इजरायली अधिकारीहरूले बताएका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको खण्डन गरेका छन् ।
इजरायली वायुसेनाले तेहरानमा व्यापक आक्रमण गरेको दाबी गरेको छ । उसले इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई पनि निशाना बनाएको छ ।
इरानको तस्निम समाचार एजेन्सीले इजरायली आक्रमणका कारण एक प्रशासनिक भवनमा सामान्य क्षति भएको उल्लेख गरेको छ । तर, अन्य विवरण भने खुलाएको छैन । इजरायली आक्रमणको जवाफमा इरानले आफ्नो हमला अझ तीव्र बनाउने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार बिहान एक वक्तव्यमार्फत इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको दाबी गरे ।
उनले इरानलाई अमेरिकी लक्ष्यहरूमा आक्रमण नगर्न कडा चेतावनी पनि दिए । इरान र इजरायल दुवैले आक्रामक रणनीति अपनाइरहेको अवस्थामा मध्यपूर्वको भू-राजनीतिक सन्तुलन पनि खलबलिएको छ ।
यससँगै, ओमानमा यसै साता हुने भनिएको अमेरिका-इरान परमाणु वार्ता रद्द भएको ओमानका विदेशमन्त्रीले पुष्टि गरेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलको आक्रमण जारी रहँदा यस्ता वार्ता अनावश्यक भएको टिप्पणी गरेका छन् । सन् २०१५ को परमाणु सम्झौता पुनःस्थापित गर्ने लक्ष्य रहेको यो वार्ता रद्द भएको हो ।
इजरायल र इरानबीचको यो तनावले मध्यपूर्वमा शान्तिको सम्भावनालाई टाढा पुर्याएको छ । इरानले आफ्नो सैन्य र रक्षात्मक क्षमता बढाउने धम्की दिइरहँदा इजरायलले पनि आफ्नो रणनीतिलाई अझ आक्रामक बनाउने संकेत गरेको छ ।