३२ असार २०८३, बिहीबार

टिकटकबाट भ्रामक सामग्री पोस्ट गर्ने युवती पक्राउ

असार १, २०८२
काठमाडौं
टिकटकबाट भ्रामक सामग्री पोस्ट गर्ने युवती पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन तथा भ्रामक सामग्रीहरू नियोजित रूपमा पोस्ट गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ती युवतीले टिकटक मार्फत जातीय तथा धार्मिक सद्भावमा खलल पुग्ने खालका विषयवस्तुहरू निरन्तर प्रसारण गर्दै आएकी थिइन्। साथै उनले प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि समेत तथ्य र प्रमाणविना आक्षेप लगाउँदै नकारात्मक धारणा फैलाउने प्रयास गरेको प्रहरीको दाबी छ।

प्राविधिक विश्लेषण र अनुसन्धानपछि खोटाङ जिल्ला, हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ।

लगत्तै पक्राउ गरेर उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले आइतबार उनलाई भक्तपुरबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालमा गलत र नकारात्मक सूचनाहरूले व्यक्तिगत र संस्थागत छवि बिग्रन सक्ने भएकाले यस्ता गतिविधिहरूविरुद्ध प्रहरी सक्रिय रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्