
काठमाडौँ । इलामको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार नियन्त्रणमा लिएकाहरुमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षिय अभिनास बोध र ३५ को रवि कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा आईतबार दिउसो नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना र विभिन्न किसिमका मालासहित नियन्त्रणमा लिएको हो ।
सामान बरामद पश्चात् सुनचाँदी ब्यबसायी संघ बिर्तामोड झापामा ल्याएर परिक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।