
भारत र इङ्ल्यान्डबीच यसै महिना टेस्ट शृंखला खेलिँदैछ । इङ्ल्यान्डमा खेलिने उक्त टेस्ट शृंखलामा पाँच खेलको हुनेछन् । दुवै टोली टेस्ट शृंखलाको अन्तिम तयारीमा छन् ।
पहिलो टेस्ट जुन २० तारिखमा लिड्समा शुरू हुनेछ । खेल शुरू हुने दिन नजिकिँदै गए पनि शृंखलाको नामलाई लिएर शुरू भएको विवाद भने अझै थामिएको छैन । इङ्ल्यान्डमा खेलिने भारत विरुद्धको शृंखलाको नाम यसअघि पटौदी ट्रफी राखिएको थियो ।
अहिले आएर भने प्रतियोगिताको नाम परिवर्तनगरी एन्डर्सन–तेन्दुल्कर ट्रफी राखिएको छ । जेम्स एन्डर्सन इङ्ल्यान्डका र सचिन तेन्दुल्कर भारतका पूर्वक्रिकेटर हुन् । यी दुवै खेलाडीको सम्मानमा यो शृंखलाको नाम राखिएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले आपसी छलफलपछि शृंखलाको नाम परिवर्तन गरेका हुन् । तर, शृंखलाको नाम परिवर्तन भएपछि दुवै राष्ट्रका प्रभावशाली पूर्वखेलाडीहरू भने निकै रुष्ट बनेका छन् ।
भारतका पूर्वखेलाडी सुनिल गावस्करणले पनि शृंखलाको नाम परिवर्तन गरिएपछि चर्को विरोध जनाएका छन् । उनले दुवै राष्ट्रको क्रिकेट बोर्डलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह पनि गरेका छन् । अहिले आएर सचिन तेन्दुल्कर आफैंले पनि शृंखलाको नाम परिवर्तन गरिएकोमा विरोध जनाएका छन् ।
महान क्रिकेटरले शृंखलाको नाम पटौदी ट्रफी नै राखिनु पर्ने बताएका छन् । उनले दुवै राष्ट्रका क्रिकेट पदाधिकारीसँग आग्रह पनि गरेका छन् । सचिनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष जय शाहसँग पनि शृंखलाको नाम पटौदी ट्रफी नै राख्न आग्रह गरेका छन् ।
आईसीसी अध्यक्ष जय शाहले पनि नाम परिवर्तन गरिनु सही निर्णय नभएको बताएका छन् । भारत र इङ्ल्यान्डबीच इङ्ल्यान्डमा खेलिने टेस्ट शृंखलालाई यसअघि पटौदी ट्रफी भनिन्थ्यो । यो शृंखलाको नाम सन् २००७ मा पटौदी ट्रफी राखिएको थियो ।
यो नाम पूर्वक्रिकेटर इफ्तिखार अली खान पटौदीको नामबाट राखिएको थियो । इफ्तिखार अली खान पटौदी भारत र इङ्ल्यान्ड दुवै राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने एकमात्र खेलाडी हुन् । उनका छोरा मंसुर अली खान पटौदी पनि भारतीय टोलीका पूर्वकप्तान हुन् । उनले पनि अध्ययनका क्रममा इङ्ल्यान्डको क्लब क्रिकेट खेलेका थिए ।