०४ साउन २०८३, सोमबार

सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन रविलाई अग्रता

असार २, २०८२
काठमाडौं
सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन रविलाई अग्रता

सूर्य नेपाल गल्फ टुर :२०२४–२५ को अन्तिम प्रतियोगिताका रूपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन सोमबार रवि खड्का उत्कृष्ट प्रदर्शनसहित शीर्ष स्थानमा पुगेका छन् । 

सूर्य नेपाल गल्फ टुरअन्तर्गत यो सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता हो । पाँच अन्डर ६७ को स्कोरमा रविले साविक विजेता सुवाष तामाङलाई एक स्ट्रोकले पछि परेका छन् । सुवाष चार अन्डर ६८ को स्कोरसहित दोस्रो स्थानमा छन् । 

यसैगरी, तीन अन्डर ६९ को नतिजासहित दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापा संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन् । दुई अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्त रूपमा सातौं स्थानमा छन् । 

यसैगरी, एक अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुप नवौं स्थानमा छन् । पूर्वनम्बर एक गल्फर रविले छैटौँदेखि नवौं होलसम्म लगातार चारवटा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन चार अन्डर ३२ मा टुंग्याएका थिए ।

त्यसपछि ब्याक नाइनमा उनले १२औं र १७औं होलमा एक–एक सट बचाए । १३औं होलको बर्डीसँगै उनले ब्याकनाइन एक अन्डर ३५ मा पूरा गरे । सुवाषले फ्रन्ट नाइन एक ओभर ३७ मा टुंग्याए । छैटौं होलमा बर्डी प्रहार गरे पनि उनले पाँचौं र सातौं होलमा एक–एक सट खेर फाले । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

विजेताले उपाधिसहित तीन लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख पाँच हजार र पाँचौं हुने खेलाडीले ९२ हजार रूपैयाँ नगद पुरस्कार हात पार्नेछन् । 

शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्