
अस्ट्रेलियामा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल)को १५ औं संस्करणमा कुनै पनि नेपाली खेलाडी नदेखिने भएका छन् ।
बीबीएलको १५ औं संस्करणका लागि ६ जना नेपाली खेलाडी ड्राफ्टमा रहेका थिए । ड्राफ्टमा रहेका नेपाली खेलाडीलाई बिहीबार कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।
बीबीएलको ड्राफ्टमा रहेका विभिन्न राष्ट्रका १५ जना खेलाडीलाई बिहीबार विभिन्न क्लबले अनुबन्ध गरे । ड्राफ्टमा नेपाली खेलाडी सन्दीप लामिछाने, देव खनाल, अर्जुन साउद, शेर मल्ल, विपिन शर्मा र आरिफ शेख रहेका थिए ।
नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले यसअघि भने बीबीएल खेलिसकेका छन् । उनले मेलबर्न स्टार्स र होबर्ट हरिकन्सबाट बीबीएल खेलेका थिए । उनले बीबीएलमा ४३ खेल खेल्दै ४८ विकेट लिएका छन् ।