
यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा तत्काल सैन्य कारबाहीको तयारीमा छन् ।
झण्डै दुई दशकअघिको इराकमाथि आक्रमण गर्ने बेलामा भाषण गरिएको जस्तो इरानमाथि केही दिनमै विजय प्राप्त हुने टिप्पणी ह्वाइट हाउस र पेन्टागनका अधिकारीहरूले गरेका छन् । २२ वर्षअघि, वासिङ्टन तनावमा थियो ।
तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले बग्दादमा आक्रमणको आदेश दिन लागेका थिए । त्यतिबेला भनिएको थियो, 'युद्ध छिटो सकिनेछ, अमेरिका विजयी हुनेछ र मिसन सम्पन्न हुनेछ ।'
तर, इराक युद्धमा होमिएको करिब ९ वर्षपछि अमेरिका फिर्ता भयो, जसमा ४ हजारभन्दा बढी अमेरिकी र १ लाखभन्दा बढी इराकीको ज्यान गइसकेको थियो ।
अमेरिकीहरूले तत्कालीन राष्ट्रपति बुशको उक्त निर्णयलाई ऐतिहासिक रूपमै गलत ठहर गरेका छन् ।
त्यतिबेलाको तनाव अहिले पुनः वासिङ्टनमाथि मडारिएको छ । ‘अनन्त युद्ध’को विरोध गर्दै चुनाव जितेका राष्ट्रपति ट्रम्प अहिले इरानमा सैन्य शक्तिको प्रयोगबारे सोचिरहेका छन् ।
यसपटक मध्यपूर्वमा २ लाख अमेरिकी सेना तैनाथ छैनन् । त्यतिबेला जस्तो विश्वव्यापी रूपमा युद्धविरोधी प्रदर्शन पनि भएका छैनन् । तर, डर र अनिश्चितताको अनुभूति अझै पनि त्यस्तै छ ।
'यसबारे धेरै कुरा फेरि दोहोरिँदै छन्,' इरानी जोन्स हप्किन्स स्कूल अफ एडभान्स्ड इन्टरनेसनल स्टडीजमा प्रोफेसर रहेका इरानी मूलका अमेरिकी नागरिक आर नसरले भने, 'एक समय हामी अज्ञानी थियौं र इराकबारे गरिएका खुसीका भाषणमा विश्वास गर्यो । तर, त्यतिबेला गरिएका हरेक अनुमान गलत साबित भए ।'
नसरले त्यतिबेला र अहिलेको स्थितिमा धेरै समानता रहेको बताएका छन् ।
'बुश प्रशासन र उसका सहयोगीले इराकमाथि गरिन लागेको आक्रमणलाई 'केकवाक' (एकदमै सजिलो काम) भनेका थिए र अमेरिकी सेनालाई त्यहाँ मुक्तिदाताका रूपमा स्वागत गरिने प्रतिबद्धता जनाएका थिए । युद्धका कारण दर्शाइएको खुफिया जानकारीमै आन्तरिक विवाद थियो । नियो–कन्जरभेटिभहरूले उक्त युद्धलाई सद्दाम हुसेनलाई हटाउने अवसरका रूपमा लिएका थिए,' नसर भन्छन् ।
त्यसबेला पनि अमेरिकाले आफ्नो श्वास रोकेर कुरिरहेको थियो, राष्ट्रपति बुशले अन्तिम निर्णय कहिले लिन्छन् भनेर ।
आज ट्रम्प समर्थकहरूले भनिरहेका छन्, 'इजरायललाई सहयोग गर्न अमेरिका फोर्डो (इरानको सबैभन्दा सुरक्षित आणविक केन्द्र)मा ३० हजार पाउन्ड तौलको 'बंकर बस्टर' बम खसालोस् । यो एकपटकको कारबाही हुनेछ, जसले मध्यपूर्वमा आमूल परिवर्तन ल्याउनेछ ।'
तर, खुफिया सूचनाबारे विवाद अझै कायम छ । राष्ट्रपति ट्रम्पकी खुफिया निर्देशक तुलसी गब्बार्डले गत मार्चमा भनेकी थिइन्, 'इरानले अहिले आणविक हतियार बनाइरहेको छैन ।'
तर, ट्रम्पले गत मंगलबार मात्र उनलाई जवाफ दिए । ट्रम्पले भने, 'उनी के भन्छिन् मलाई मतलब छैन । इरान साँच्चै नै आणविक हतियारको नजिक पुगेको छ ।'
त्यसैगरी, इराक युद्धका लागि जोड दिने केही व्यक्तिहरू अहिले इरानमाथि युद्धको पक्षमा लागेका छन् ।
अहिले ट्रम्पविरोधी भएपनि इराक युद्धका कट्टर पक्षपाति विलियम क्रिस्टोल भन्छन्, 'यदि तपाईंलाई इरानसँग आणविक हतियार हुनुहुँदैन भन्ने लाग्छ भने, अहिले नै मौका छ काम सकाउने ।'
अहिले विश्वले प्रतीक्षा गरिरहेको छ, अमेरिकी राष्ट्रपतिले के निर्णय लिन्छन् भनेर ।
बुधवार इरानी आणविक केन्द्रमाथि आक्रमण गर्नेबारे सञ्चारकर्मीले सोधेको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भनेका थिए, 'म गर्न पनि सक्छु, नगर्न पनि सक्छु । म के गर्न जाँदैछु, कसैलाई थाहा छैन ।'
युद्धको 'एन्डगेम'बारे केही प्रश्नहरू फेरि उठेका छन् । त्यतिबेला बुश चढेको जहाज जब अब्राहम लिंकन एयरपोर्टमा उत्रिएको थियो, त्यहाँ बुशले 'मिसन सम्पन्न' लेखिएको ब्यानरमुनि उभिएर युद्ध समाप्त भएको घोषणा गरेका थिए । तर, युद्ध समाप्त हुन ९ वर्ष लागेको थियो ।
यदि अमेरिकाले फोर्डोमाथि बमबारी गर्यो भने युद्ध थप विस्तार हुन सक्ने चिन्ता यतिबेला अमेरिकीहरूमा छ ।
त्यसलगत्तै इरान समर्थक मिलिसियाले अमेरिकी सैन्य अड्डामा आक्रमण गर्न सक्छन् । लाल सागरमा इरान समर्थक हुथी समूहले अमेरिकी जहाजमाथि हमला गर्न सक्छन् ।
२००७-२००८ मा अमेरिकी सेनाको मध्यपूर्वस्थित सम्पूर्ण सैनिक कारबाही सम्हालेका एडमिरल विलियम एफ. फालोनले बुधबार भने, 'इरानमाथि आक्रमणपछि परिस्थितिले नियन्त्रण गुमाउन सक्छ भन्ने चिन्ता छ ।'
उनले योजना के हो भन्ने प्रश्न पनि गरे । 'हाम्रो रणनीति के हो ? हामी कुन अन्तिम अवस्थामा पुग्न चाहन्छौं ? इरानसँग आणविक हतियार नहोस् भन्ने कुरामा धेरैको सहमति छ । तर, त्यसपछि इरानसँग हाम्रो सम्बन्ध के हुने ? हामी त छिटो–छिटो निर्णय गरिरहेछौं,' उनले सञ्चारकर्मीहरूसँग भने ।
तर, केही विश्लेषकहरूले अहिलेको स्थिति इराक युद्धको पूर्व तयारीसँग फरक रहेको बताएका छन् । इराक र अफगानिस्तानमा अमेरिकी सेनाको नेतृत्व गरेका जनरल डेभिड एच. पेत्रायसले बुधवार दिएको वक्तव्यमा भनेका छन्, 'योचाहिँ सम्भावित सैन्य कारबाही हो, तर देशमाथिको पूर्ण आक्रमण होइन ।'
पेत्रायसका अनुसार ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनेईलाई अल्टिमेटम दिनुपर्छ ।
'उनले तत्काल आणविक कार्यक्रम अन्त्य नगरे, तपाईंको देश, शासन र जनताको विनाश हुनेछ भन्नुपर्छ,' पेत्रायस भन्छन्, 'यदि इरानका सर्वोच्च नेताले त्यसलाई अस्वीकार गरे भने त्यसले हामीलाई वैधता दिन्छ । र, अनिच्छासाथ भए पनि हामीले तिनीहरूलाई ध्वस्त पार्नुपर्छ ।'
नसरको फरक भनाइ छ । उनले दुई कोणबाट आफ्नो भनाइ राखेका छन् ।
उनी भन्छन्, 'अमेरिकी हमलाले फोर्डो पूर्णरूपमा नष्ट भएपछि र इरान वार्ताका लागि तयार भयो भने त्यो राम्रो कुरा हो । तर, यदि इरानले सैन्य जवाफ दियो भने र अमेरिकी सैन्य अड्डामा आक्रमण गर्यो भने ट्रम्प जवाफी कारबाही गर्न बाध्य हुनेछन् ।'
नसर थप्छन्, 'त्यसपछि स्थिति कहाँ पुग्ने हो, थाहा हुन्न । ट्रम्प फेरि इराक युद्ध दोहोरिने जोखिममा छन् । इरान इराकभन्दा ठूलो देश हो, ९ करोड जनसंख्या र शक्तिशाली राष्ट्रवादी सेना भएको मुलुक हो ।'
ट्रम्पको पहिलो कार्यकालका राष्ट्रिय सुरक्षा सल्लाहकार र इराक युद्धका कट्टर समर्थक जोन बोल्टन तत्काल इरानमाथि हमला गर्नुपर्ने पक्षमा छन् । 'फोर्डोलाई बमबारी गर, काम सक ! म त भन्छु, यो काम धेरै पहिल्यै गर्नुपर्ने थियो,' बोल्टनको भनाइ छ ।
बोल्टनले ट्रम्पसँगको कार्यकालबारे पुस्तक लेखेपछि ट्रम्प रिसाएका थिए । त्यसपछि ट्रम्पले बोल्टनको सेक्रेट सुरक्षा हटाए । यद्यपि, बोल्टनलाई इरानबाट अहिले पनि ज्यान मार्ने धम्की आइरहेको छ ।
ट्रम्प र बोल्टनबीच अहिले बोलचाल छैन । बोल्टन भन्छन्, 'ट्रम्पले के निर्णय लिन्छन्, सम्भवतः उनैलाई पनि थाहा छैन । ट्रम्प राष्ट्रिय सुरक्षा संकटको बेलामा तर्सिन्छन् ।'
– एजेन्सीहरूको सहयोगमा