२६ जेठ २०८३, मंगलबार
भिजिट भिसा प्रकरण

संसद अवरोध हटाउन मध्यमार्गी विकल्पमा छलफल– छानबिनका लागि कुनै समिति वा कार्यदल बन्न सक्ने

असार ६, २०८२
काठमाडौं
संसद अवरोध हटाउन मध्यमार्गी विकल्पमा छलफल– छानबिनका लागि कुनै समिति वा कार्यदल बन्न सक्ने

भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाकै विषय बनाएपछि सत्तारुढ दलले मध्यमार्गी विकल्पमा छलफल गरिरहेका छन् ।

यसअघि १८ दिनको अवरोध चिर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच भएको २ बुँदे सहमतिकै वरिपरि रहेर दलहरू छानबिन गर्ने गरी गृहकार्यमा जुटेका हुन् । 

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ३० जेठमा भएको दुई बुँदे वरिपरि रहेर भिजिट भिसा, अध्यागमन कार्यालयलाई सुधार गर्ने गरी समिति वा कार्यदल बनाउने गरी सहमतिको प्रयास भइरहेको जानकारी दिए । 

‘हामीले सदन खुलाउनकै लागि २ बुँदे सहमतिमा हस्ताक्षर गरेका हौं । यसैको व्याख्या वरिपरि रहेर कुनै समिति वा कार्यदल बनाएर प्रश्न उठेका विषयमा छानबिन गर्ने विषयमा छलफल गर्दैछौं,’ घिमिरलेले भने, ‘समिति, कार्यदल जे नाम दिए पनि केही दिनमा नै बन्छ र सदनको अवरोध अन्त्य हुन्छ भन्नेमा छौं ।’ 

माओवादी, रास्वपा, राप्रपा, नेकपा एसको निरन्तरको विरोधपछि जेठ २८ गते दुई बुँदे सहमति भएको थियो । सत्ताको तर्फबाट एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्षीका तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका थिए । 

पहिलो बुँदामा अख्तियारले गरिरहेको अनुसन्धानलाई सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ । ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ,’ पहिलो बुँदामा भनिएको छ, ‘उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।’

दोस्रो बुँदाले छानबिन समिति गठन नै भनेको छैन । भिजिट भिसा र अध्यागमनको विषयमा अध्ययन अनुसन्धान गर्ने बताइएको छ । 

null

‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने’ दोस्रो बुँदामा उल्लेख छ । निश्चित दिन तोकेर समिति गठन गर्ने यो दुवै बुँदाले उल्लेख गरेको छैन । तर, माओवादीले माने पनि रास्वपा र राप्रपाले नमानेपछि दलहरू छानबिन गर्ने संरचनाको बहस थालेका हुन् । 

विपक्षीले शुरूदेखि नै गृहमन्त्री रमेश लेखकलाई यो प्रकरणमा जोड्दै उनको राजीनामा र छानबिन समिति गठनको माग गरेका थिए । तर, संवैधानिक निकाय अख्तियारले गरिरहेको छानबिनको विषयमा गृहमन्त्रीलाई अनावश्यक जोड्ने र उसको निष्कर्ष नआउँदै बाहिरबाट समिति गठनको अडानबाट उनीहरू क्रमश: पछाडि फर्किएका हुन् । माओवादी यो विषयमा सत्तापक्षकै लाइनमा देखियो । तर, रास्वपाले पनि सदनमा निरन्तर अवरोध गर्दै आएको छ । 

सरकारले दुई बुँदे सहमतिको भावनाअनुसार कुनै समिति वा कार्यदल बनाउने विषयमा छलफल अगाडि बढाएको गृहमन्त्री लेखकनिकट स्रोतले जानकारी दियो । 

‘२ बुँदे सहमतिको वरिपरि रहेर समिति वा कार्यदल बनाउने विषयमा गृहमन्त्रीले गृहकार्य गरिरहनुभएको छ । त्यस्तो संरचनामा गृह, परराष्ट्र र  श्रम मन्त्रालयका प्रतिनिधि रहने प्रारम्भिक छलफल भइरहेको छ,’ गृहमन्त्रीनिकट स्रोतले भन्यो, ‘केही दिनमा यसको आकार/प्रकारको टुंगो लाग्छ । यस्तो संरचना बनेपछि सदनको गतिरोध पनि हट्छ भन्ने विश्वासमा हामी छौं ।’ तर, सत्तारुढ दल यस्तो संरचनालाई उच्चस्तरीय नाम दिनेमा सहमत छैनन् । 

यस्तो संरचना गठनको छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले अग्रसरता लिएका छन्, जसमा गृहमन्त्री लेखक, माओवादीका वर्षमान पुन, नेता शक्ति बस्नेत पनि सहभागी हुँदै आएका छन् । 

अवरोधको १८ दिनपछि माओवादीसँग २ बुँदे सहमति भएपछि संसद अवरोध नहटेपछि बैठक नियमित चल्दै आएको छ । विपक्षीहरू दुईतिर बाँडिने क्रममा माओवादी सत्तातिर लाग्यो । रास्वपा र राप्रपाले अहिले पनि सदनमा विरोध जारी राखेका छन् । रास्वपाले दिनहुँ वेलमा उत्रिँदै भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएको छ । राप्रपा वेलमा झरेको छैन । तर, विरोधमा रास्वपालाई साथ दिइरहेको छ । 

यी दुई दलको अवरोधले संसद् नियमावलीमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम नै प्रभावित भएको थियो । सांसदहरूको असहयोगले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नपाएको भन्दै सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका थिए । 

‘मान्य सदस्यहरूको विरोध, असहयोग र यहाँको वातावरण उचित ढंगको नभएको हुँदा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दा कार्यसूचीबाट हटाएको जानकारी गराउँछु,’ प्रश्नोत्तर कार्यक्रम स्थगित गर्दै घिमिरेले भनेका थिए ।  

सभामुखको यस्तो घोणषापछि रास्वपा सांसद झन् आक्रोशित हुँदै उठेर विरोध जनाइरहे । 

विनियोजन विधेयकमाथि छलफल कार्यक्रमबारे सभामुखले पटक–पटक ध्यानाकर्षण गराए । तर, रास्वपा र राप्रपाको विरोध कायम रहिरह्यो । प्रश्नोत्तर कार्यक्रम स्थगित भएपछि ओली बैठकबाट निस्किएका थिए । त्यसपछि रास्वपा र राप्रपाका नेताहरूले पनि बैठक बहिष्कार गरे । 

null

बाहिरिने क्रममा केही युट्युबरले ‘संसद्मा बोल्न पाउनुभएन होइन ?’ भन्दै प्रश्न गरे । 

जवाफमा ओली ‘मज्जा लाग्यो ?’ भन्ने प्रतिप्रश्न गर्दै बाहिरिए । रास्वपाका सांसदले प्रधानमन्त्रीलाई आफ्नो कुरा सुनाउन नपाएपछि बैठक बहिष्कार गरेको जिकिर गरेका थिए । 

‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं, तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,’ रास्वपाले भनेको छ, ‘तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’

रास्वपा बाहिरिए पनि बजेटमाथि मन्त्रालयगत समीक्षा पनि निरन्तर चल्यो । 

कांग्रेस नरम भए पनि रास्वपाले स्टन्ट गरेको भन्दै एमाले आक्रोशित हुँदै आएको छ । प्रधानमन्त्रीलाई समेत बोल्न अवरोध गरेपछि मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाएका छन् । 

‘हामीले सदनको अवरोध हटाउन दुई बुँदे सहमति गरेका छौं । यही भित्रबाट समस्या समाधान हुन्छ । अध्यागमन प्रणाली, भिजिट भिसा प्रकरणको वृहत् अध्ययन, छानबिन, प्रशासनिक कानूनी र नीतिगत सुधारमा सरकारले काम गर्ने भनेर लिखित प्रतिबद्धता जनाएको छ,’ बर्तौलाले भने, ‘एक महिनामा हामीले यो गर्ने भनेका छौं । तर, योभन्दा धेरै रास्वपाले मागेको के हो ? नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीले बोल्न नपाउने भएपछि सभामुखले सूचीबाट हटाइदिनुभयो । रास्वपाको यो अर्घेल्याइँ अनुचित छ ।’

नियममा भएको कुरा नमान्ने तर बाहिर स्कार्फ र कालो पोशाकको स्टन्ट देखाएको भन्दै उनले आपत्ति जनाए । 

‘संसदीय प्रणालीमा प्रतिपक्षी दल मुख्य हो । उससँग सहमति भएपछि सबै विपक्षीसँग सहमति–सम्झौता सम्भव छैन, तैपनि उहाँहरूले उठाउनुभएको कुरा सम्बोधन हुन्छ भने गर्छौं भनिरहेका छौं,’ बर्तौलाले भने, ‘अस्तिसम्म रास्वपा पनि सरकारमा थियो । यसैले न्यूनतम् प्रणालीलाई मान्नुपर्छ । यस्ता कुराले रास्वपालाई निल्नेछ । अशिष्ट र अमर्यादित ढंगले बोल्ने, बोल्न लगाउने कुरा ठीक छैनन् । रत्नपार्क, माइतीघर र संसदमा गरिने विषय फरक हुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्