
'म त जन्मदिन मनाउनकै लागि त्यहाँ गएजस्तो भयो,' इजराइलबाट फर्केपछि शुक्रबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विराटनगरका मेयर नागेश कोइरालाले व्यङ्ग्यात्मक शैलीमा भने ।
सात दिनदेखि इजरायल भ्रमणमा रहेका उनी बिहीबार राति गृहनगर आइपुगेका हुन् ।
इजरायलमा कृषि अध्ययन भ्रमणमा पुगेको चौथो दिन उनको जन्मदिनमा नै इरानसँग युद्ध शुरू भएको थियो । त्यसैले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै शुरूआतमा नै उनले जन्मदिन मनाउनकै लागि त्यहाँ पुगेको जस्तो भएको सुनाए ।
इजरायलमा सहकारीमार्फत कृषि क्षेत्रमा भएको प्रगतिको अध्ययनका लागि मेयर कोइराला जुलाई ९ को राति १०:३० बजे इजरायलको तेलअभिभ ल्यान्ड भएका थिए । मरुभूमिलाई कसरी खेतीयोग्य बनाइयो, न्यूनतम स्रोतले कसरी अधिकतम उत्पादन गर्न सकिन्छ भन्ने कुरा सिक्ने उद्देश्य रहेको उनले बताए ।
फिलिपिन्सका २ सांसद र १५ मेयर/उपमेयरसहितको १८ सदस्यीय टोलीमा मेयर कोइराला भने एक्ला नेपाली थिए ।
नेपाली राजदूत धनप्रसाद पण्डित र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए ।
तेलअभिवबाट ३० किलोमिटर टाढा सहकारीद्वारा सञ्चालित होटलमा बसाइँ र अध्ययनको व्यवस्था गरिएको थियो ।
उनले पहिलो दिन कक्षामा सहभागिता जनाएका थिए भने दोस्रो दिन फूल उत्पादन गार्डेन र बहाइ धर्मको मन्दिर अवलोकन गरेका थिए।
तेस्रो दिनसम्म उनी बसेको ठाउँ सामान्य थियो । चौथो दिन इरानसँग युद्ध शुरू भएपछि अध्ययनका सबै कार्यक्रम स्थगन भएका उनले जानकारी दिए ।
इजरायल प्राय: रातको समयमा साइरन बज्ने आफूले थाहा पाएको उनले बताए । नेपाल फर्किने दिन बिहान ९ बजे र साढे ९ बजे पनि साइरन बजेको उनले सुनाए ।
मेयर कोइरालाले झन्डै ८० पटक बंकरमा शरण लिनुपरेको बताए । ‘त्यहाँका नागरिकहरूले ‘होम फ्रन्ट कमान्ड’ सफ्टवेयर प्रयोग गर्दा रहेछन् । जसले मिसाइल प्रहारको ९० सेकेन्ड अगाडि चेतावनी दिन्छ । हरेक घरमा सुविधासम्पन्न बंकर निर्माण गरिएको छ,' उनले भने ।
पहिलो पटक बंकर जाँदा एकदमै आतङ्कित भएको उनले बताए । ‘म सुतिरहेको थिएँ । साइरन बज्न थालेपछि सबैको भागाभाग भयो,’ उनले भने, ‘म पनि हतारमा हाफ पाइन्ट लगाएर दौडँदै बंकरमा पसेँ ।’
एकपटक आफूले साइरन बजेको नसुनेको उनले बताए । अचानक अन्तिम साइरन बज्न थालेपछि डराएर कुदेको उनले सुनाए । 'म यति छिटो दौडिएँ कि बत्तीभन्दा पनि छिटो गतिमा । मलाई त्यसबेला बरु दुवै खुट्टा भाँचियोस् तर म बाँच्नुपर्छ जस्तो लाग्यो,’ सबैभन्दा डरलाग्दो क्षण भन्दै उनले सुनाए ।
युद्ध शुरू भएपछि त्यहाँ लकडाउनजस्तै अवस्था हुने गरेको उनले बताए । बजार, स्कूल, कलेज सबै बन्द भएको उनले बताए । ‘ बमजस्तै आवाज निकालेर मिसाइल आउँथ्यो । तर, सार्वजनिक बंकरहरू एक/डेढ मिनेटमा पुग्ने दूरीमा निर्माण गरिएका हुँदा रहेछन्,' उनले भने।
फर्कने दिन पनि चुनौती भएको उनले बताए । बिहान ६ बजे राजदूत आफैं लिन आएको स्मरण गर्दै उनले भने तेलअभिभ जाने बाटोमा साइरन बज्यो र सेल्टरमा लुक्नुपरेको सुनाए ।
यस्तो प्रकारको युद्ध जीवनमा पहिलोपटक देखेको भन्दै उनले भने, ‘कुनै पनि बेलामा मर्छु होला जस्तो लाग्थ्यो । घरमा ठीक छु भनेर भनेँ, तर मनमा डर त थियो । एक पटक बंकर नजिकै विस्फोट भयो । निकै ठूलो धक्का महसुस भयो । त्यति बेला चाहिँ बाँच्छु होला भन्ने लागेको थिएन ।