
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ । नेपालले जितका लागि एक सय ९४ रनको लक्ष्य पाएकामा १८ दशमलव ५ ओभरमै १५९ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३४, रोहित पौडेलले २७, आशिफ शेखले १४ तथा भीम सार्कीले १२ रनको योगदान दिए । यसैगरी रुपेश सिंहले सर्वाधिक रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
००००
सक्रिय मनसुनका कारण सम्भावित विपद्बाट जोगिन तथा यात्रु सुरक्षाका लागि सिन्धुलीको खुर्कोटदेखि काठमाडौंतर्फ जाने सवारी साधनलाई राति सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि लागू हुने गरी राति ६ः३० बजेपछि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारीलाई बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि काठमाडौंतर्फ प्रस्थान गर्न निषेध गरेको हो।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगलाई विवरण अद्यावधिक गर्न आग्रह गर्ने भएको छ ।
आयोगको विवरणमा विसं २०८० चैत २० पछि रास्वपाको केन्द्रीय सदस्यका पदाधिकारी तथा सदस्यको हेरफेर भएपनि अद्यावधिक नभएको रास्वपाले जनाएको छ ।
००००
‘म त जन्मदिन मनाउनकै लागि त्यहाँ गएजस्तो भयो,’ इजराइलबाट फर्केपछि शुक्रबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विराटनगरका मेयर नागेश कोइरालाले व्यङ्ग्यात्मक शैलीमा भने ।
सात दिनदेखि इजरायल भ्रमणमा रहेका उनी बिहीबार राति गृहनगर आइपुगेका हुन् ।
००००
काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले शुक्रबार बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
००००
भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाकै विषय बनाएपछि सत्तारुढ दलले मध्यमार्गी विकल्पमा छलफल गरिरहेका छन् ।
यसअघि १८ दिनको अवरोध चिर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच भएको २ बुँदे सहमतिकै वरिपरि रहेर दलहरू छानबिन गर्ने गरी गृहकार्यमा जुटेका हुन् ।
००००
ललितपुरको ग्वार्को चोकमा बनेको ओभरपासको शुक्रबार उद्घाटन गरिएको छ ।
पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
उनले रिबन काट्दा प्रधानमन्त्री ओलीले ताली बताएका थिए । नजिकै डिभाइडरमा राखिएको शिलापत्रको अनावरण भने प्रधानमन्त्री ओलीले गरे ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख ३ दलका शीर्ष नेताहरूसँग टीआरसीका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको शीर्ष नेताको बैठकमा टीआरीको विषयमा छलफल भएको प्रधानमन्त्रीका कानूनी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
००००
नेपाल प्रिमियर लीग (एनपीएल)को कमर्सियल राइट्ससम्बन्धी ठेक्काका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले छानबिन समितिलाई दोस्रोपटक पनि झारा टार्ने हिसाबले जवाफ दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मातहत गठित समितिले पठाएको दोस्रो पत्रमा समेत क्यानले स्पष्ट जवाफ नदिई भावनात्मक कुरा लेखेर पठाएको हो ।
अझ अचम्मको कुरा त के भने, यसअघि क्यानका सचिव पारस खड्काको जवाफ चित्त नबुझेर अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी दोस्रो पत्र लेखिएकोमा फेरि पारसले नै जवाफ फर्काएको राखेप स्रोतले लोकान्तरलाई जानकारी दियो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेख मिथेन ग्यास उत्खननमा भएको प्रगतिबारे पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको भूमिकाको सराहना गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतासहितको बैठकमा ओलीले आ–आफ्नो कार्यकालमा यस विषयमा काम गरेको भन्दै दुवै जनाको भूमिकालाई स्मरण गरेका हुन् ।
००००
सुन तस्करी मुद्दाकी फरार प्रतिवादी अमला रोका पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रोकालाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
एसएसपी होबिन्द्र बोगटीले रोकालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए ।
००००
परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छिन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा यस्तो जानकारी गराएकी हुन् ।
००००
यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिनको माग गर्दै आएको रास्वपाले यस अघि वेल घेराउ गर्दै आएको थियो । तर संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम स्थगित भएपछि रास्वपाले बैठक बहिष्कार गरेको छ ।
००००
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामविरुद्ध प्रहरीमा उजुरी परेको छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका नेकपा एसका नेता रक्की थेबेले मन्त्री हाङगामवरिुद्ध ठाडो निवेदन दिएका हुन् ।
मंगलबार हाङगामको गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा थेबेलाई मन्त्रीले दुई मुक्का प्रहार गरेका थिए ।