
निरन्तरको पहिरोका कारण शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर आज पनि सञ्चालनमा आउन सकेको छैन ।
कालीगण्डकी गाउँपालिका –१ अन्तर्गत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले बताए ।
'सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौं,' प्रहरी नायब उपरीक्षक सारूले भने ।
उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।
पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडक खण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडक खण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका– ७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रूपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।