
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । रास्वपाले विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा रास्वपाले बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत शुरू गरिएको रास्वपाले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन् । भैरहवा कारागारबाटै एक अपील जारी गर्दै उनले राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाअनुसार आफूमाथि आरोप लगाइएको बताएका हुन् ।
आफूलाई जनताबाट पाएको समर्थन र साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको उनको भनाइ छ । लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई बढुवा गरेर महामन्त्रीको जिम्मेवारी दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो ।
संस्थापक महामन्त्री डा मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यबहाक महामन्त्री बनायएको थियो ।
यसैगरी, मनिष झलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । कार्यबाहक प्रवक्ताबाट बढुवा गरेर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बेला पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको सन्दर्भमा उनकी पत्नी निकिता लामिछानेले सामाजिक सञ्जालमार्फत एक अपील जारी गर्दै आफ्ना पतिमाथि राज्य प्रायोजित अन्याय र राजनीतिक प्रतिशोध साँधिएको गम्भीर आरोप लगाएकी छिन्।
उनले देशको भाग्य र भविष्य बदल्छु भनेर राजनीतिमा होमिएका व्यक्तिहरू यसरी फसाइनुपरे भविष्यमा कोही पनि राजनीति गर्न घरबाट ननिस्कने भन्दै चिन्ता व्यक्त गरेकी छिन्।
००००
इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धमा नजान चेतावनी दिएका छन् ।
उनले टेलिग्राममा पुरानो टेलिभिजन वक्तव्य पुनः सार्वजनिक गर्दै अमेरिका यदि इरानसँगको जारी तनावका बीच युद्धमा होमियो भने त्यसको ‘गम्भीर नतिजा’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।
खामेनीले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिका यदि यो युद्धमा प्रवेश गर्छ भने त्यसले भोग्ने क्षति इरानले भोग्ने सम्भावित क्षतिभन्दा धेरै गम्भीर र गहिरो हुनेछ ।’
००००
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुप्रति लक्षित गर्दै कडा कटाक्ष गरेका छन्।
केही दिनअघि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भप्रति लक्षित गर्दै बास्कोटाले ‘संसदमा तमासा देखाउनेहरु’ रातभर कांग्रेस नेताको शरणमा पुगेको भन्दै व्यंग्य गरेका हुन्।
००००
आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाएर राखिएका ३५ जना नेपाली युवाको उद्धार गरिएको जनाएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक एक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार गरिएको जानकारी दिएको हो ।
राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरुलाई आकर्षक जागिर दिने भन्दै भारतको उत्तराखण्डस्थित काशिपुरमा बोलाइएको थियो । त्यहाँ पुगेपछि उनीहरुलाई बन्दी बनाएर कुटपिट, यातना दिइएको र विभिन्न शीर्षकमा रकम असुल गरिएको भन्ने व्यहोरा राजदूतावासको जानकारीमा आएको थियो ।
००००
इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो ।
“नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धार गर्नेछ,” इरानस्थित भारतीय दूतावासले लेखेको छ।
इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।
००००
प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ ।
शनिबार सङ्घीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल भएको हो ।
छलफलमा सांसदहरू डा चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मिना तामाङ, लालप्रसाद साँवा लिम्बु, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी भए ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताएका छन् ।
ब्रिटिस गोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा शनिबार ललितपुरमा आयोजित वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिस गोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन कार्यक्रममा उनले ब्रिटिस गोर्खा सैनिकको साहस, मेहनत, प्रतिबद्धता र अनुशासनको विश्वभर प्रशंसा हुने गरेको बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न नेताद्वय विप्लव र प्रकाण्ड शनिबार बिहान खुमलटार पुगेका हुन् ।
००००
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा शनिबार ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई सहयोग गरेको छ ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लीमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल शनिबार स्वर्गीय पत्रकार रजकको घर पुगेर ३ लाख रुपैयाँ सहयोग गरेका हुन् ।