
काभ्रेपलाञ्चोकको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ ।
रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।