
भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट लिड्समा जारी छ । दोस्रो दिनको खेल सकिँदासम्म भ्रमणकारी टोली भारत पहिलो पालीमा २६२ रनले अगाडि छ । इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर दुई सय नौ रन बनाउँदै क्रिजमा छन् ।
इङ्ल्यान्डका ओली पोप अविजित एक सय र ह्यारी ब्रुक अविजित शून्य रन बनाउँदै क्रिजमा छन् । त्यसअघि टस हारी ब्याटिङको निम्तो पाएको भारतीय टोलीले आफ्नो पहिलो पालीमा चार सय ७१ रन बनाएको थियो ।
भारतका लागि यशस्वी जैसवालले एक सय एक रन, कप्तान शुभमन गिलले एक सय ४७ रन र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले एक सय ३४ रन बनाएका थिए ।
पहिलो टेस्टको दोस्रो दिन भारतीय टोलीका प्रभावशाली बलर जसप्रित बुमराहले एउटा कीर्तिमान पनि बनाए । इङ्ल्यान्डको तीनवटै विकेट उनले लिएका थिए । विश्व क्रिकेटमा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, न्युजिल्यान्ड र अस्ट्रेलियालाई ‘सेना’ राष्ट्र भनिन्छ ।
बुमराह ‘सेना’ राष्ट्रमा सबैभन्दा बढी विकेट लिने एसियाली बलर बनेका छन् । यसअघि यो कीर्तिमान पाकिस्तानी खेलाडी वसिम अकरमको नाममा थियो । ‘सेना’ राष्ट्रमा बुमराहले ६० पाली खेल्दै कूल एक सय ४८ विकेट लिएका छन् ।
वसिम अकरमले भने ‘सेना’ राष्ट्रमा खेलिएको ५५ पालीमा कूल एक सय ४६ विकेट लिएका थिए । कूल एक सय ४१ विकेटसहित यो सूचीमा भारतका अनिल कुम्बले तेस्रो र भारतकै इशान्त शर्मा एक सय ३० विकेटसहित चौंथो स्थानमा आसिन छन् ।
बुमराहले ‘सेना’ राष्ट्रमा दक्षिण अफ्रिकाको ३८, इङ्ल्यान्डको ४०, न्युजिल्यान्डको ६ र अस्ट्रेलियाको ६४ विकेट लिएका छन् ।