नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन्जी अर्थात् नयाँ पुस्ताको आक्रोश, असन्तोष र आशावादी दृष्टिकोणलाई समयमै सम्बोधन नगरे लोकतन्त्रप्रति वितृष्णा बढ्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा-काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको 'जेन्जी पुस्ता, लोकतान्त्रिक विचार' विषयक छलफल कार्यक्रममा शिवाकोटीले भने, 'जेन्जी ‘डेमोक्रेसी’ सुन्छ, तर ‘डेलिभरी’ खोज्छ। जब त्यो देख्दैन, उनीहरूमा सिस्टमप्रति अविश्वास बढ्छ।'
उनले वर्तमान पुस्ताले संविधान, चुनाव र सरकार परिवर्तन सबै देखे पनि आफ्ना जीवनका आधारभूत पक्षहरू शिक्षा, रोजगारी, स्वास्थ्य र न्यायमा सुधार नदेखेकै कारण आक्रोशित बनेको उल्लेख गरे।
शिवाकोटीले युवापुस्तासँग संवाद मात्र नभई सहकार्यको नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिँदै भने, 'अब समय संवादको मात्र होइन, सहकार्यको हो। हामीले उनीहरूको भाषा बुझेनौं, प्लेटफर्ममा पुग्न सकेनौं र रिसलाई सम्बोधन गर्न चुक्यौं।'
उनले पार्टीलाई आग्रह गर्दै टेक्नोलोजीप्रेमी जेन्जी पुस्तालाई ‘फेसबूक लिडर’ मात्र नभई उनीहरूलाई नीतिगत निर्णय प्रक्रियामा संलग्न गराउनु पर्ने बताए।
शिवाकोटीले पछिल्लो समय युवा पुस्ताले सैन्य शासकहरूप्रति देखाएको आकर्षणप्रति चिन्ता व्यक्त गर्दै भने, 'बुर्किना फासोका ट्राओरेजस्ता सैन्य शासकलाई युवाहरूले नायक ठान्न थालेका छन् । प्रक्रियाभन्दा परिणामको मूल्यांकन हुने प्रवृत्ति बढ्दै छ। यसले लोकतन्त्रका लागि गम्भीर संकट निम्त्याउन सक्छ।'
शिवाकोटीले थपे, 'अबको सवाल यो होइन कि पहिला हामीले के गरेका थियौं। अबको प्रश्न हो: हामी अब उनीहरूका लागि के गर्छौं?'
उनले जेन्जी पुस्ताको शक्ति लोकतान्त्रिक बाटोमा प्रयोग गर्न सकिएन भने त्यो ऊर्जा ‘कहिल्यै कल्पना नगरेको दिशामा’ जान सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।