
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनले आज प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीलाई भेटेका हुन् ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा शुरू गरेका बोहरा ३१औं दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए ।
सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज भेट्न पाएका हुन् ।
बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा नभएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।