
ललितपुरको विष्णुदेवी मन्दिर नजिक दुई समूहबीच झडप हुँदा २ जना घाइते भएका छन् ।
आइतबार दिउँसो ३ बजेको समयमा ललितपुर महानगरपालिका वडा नम्बर ४ विष्णुदेवी मन्दिर नजिकै २ समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले लोकान्तरलाई जानकारी दिए।
एसपी जोशीका अनुसार झडपमा महोत्तरी घर भई ललितपुर-३ धोबीघाट बस्ने ३० वर्षीय रञ्जीत मगर र कैलाली घर भई विष्णुदेवी मन्दिर नजिकै बस्ने २६ वर्षीय खगेन्द्र बयक घाइते भएका छन्। घाइते मध्ये मगरलाई बढी चोट रहेको उनले बताए । मगरको पाटन अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर प्रहरीले उनीहरूको परिचय गोप्य राखेको छ ।
उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।