३० असार २०८३, मंगलबार

नेपाली वामपन्थी दल तथा बुद्धिजिवीद्वारा प्यालेस्टाइन र इरानमाथिको आक्रमणको निन्दा, तत्काल युद्धविरामको माग

असार ८, २०८२
काठमाडौं
नेपाली वामपन्थी दल तथा बुद्धिजिवीद्वारा प्यालेस्टाइन र इरानमाथिको आक्रमणको निन्दा, तत्काल युद्धविरामको माग

 नेपालका विभिन्न वामपन्थी राजनीतिक दल तथा बुद्धिजिवीहरूले अमेरिका र इजरायलले प्यालेस्टाइन र इरानमाथि गरिरहेको आक्रमणको निन्दा गर्दै तत्काल युद्धविरामको माग गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै यी आक्रमणहरूलाई 'गम्भीर युद्ध अपराध'को संज्ञा दिएका छन्।

असार ८ गते जारी गरिएको उक्त वक्तव्यमा गत वर्ष इजरायलले प्यालेस्टाइनको गाजालगायतका क्षेत्रमा नरसंहार मच्चाएको यथार्थ सर्वविदित्तै रहेको उल्लेख गरिएको छ। यही विषयलाई लिएर नेपाली राजनीतिक दलहरू र नागरिक समाजले प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता जाहेर गरेको स्मरण पनि वक्तव्यमा गराइएको छ।

वक्तव्यमा यस घटना सेलाउन नपाउँदै इजरायलले इरानमाथि आक्रमण गरी इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताइएको छ। अझ, अमेरिकाले आणविक हतियारको बहानामा इरानमाथि गरेको पछिल्लो आक्रमणलाई 'गम्भीर युद्ध अपराध' भन्दै यसले विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको र विश्वव्यापी युद्धआतंक फैलाएको आरोप लगाइएको छ।

उक्त संयुक्त वक्तव्यमार्फत साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै तत्काल युद्धविराम गरी विश्वशान्ति कायम गर्नुपर्नेमा जोड दिइएको छ। 

वक्तव्यमा अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।

संयुक्त वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लब, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (पीवीएम) का पवन मान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी, वाम बुजिवीवी निनु चापागाईं र राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोताले हस्ताक्षर गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्