
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन् ।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रले आयोजना गरेको 'बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली' सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले कांग्रेसले तल्लो तहका नागरिकहरूको जीवनस्तर उकास्न पक्षपोषण गर्ने बताएका हुन् ।
'हामीले खोजेको भनेको समुन्नत नेपाल हो, हामी पूँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौं र नाफालाई अपराध मान्दैनौं, तल्लो तहमा रहेका नागरिकलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन, नेपाली नागरिकले खोजेको कुरा यही हो, यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ,' उनले भने ।
नेपालले बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापन सिक्नुपर्ने महामन्त्री थापाको भनाइ छ । 'हामीले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो, संसदीय प्रणालीमा हाम्रो ठूलो विश्वास छ,' उनले भने, 'लेबर पार्टीबाट सिक्ने कुरा धेरै छ । बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ। हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो ।'
लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउँदै कांग्रेस र नेपालमा पनि लेबर पार्टीमा भएका राम्रो कामहरू लागू होस् भन्ने आफूले चाहेको बताए ।
कैनीले बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको छ। 'निर्वाचनमा जानु अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुन्छ, पार्टीले बहुमत नल्याएको अवस्थामा पनि विपक्षी दलको नेता हुन्छ,' उनले भने ।