
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।
सोमबार प्रदेशसभा बैठकमा उनले आगामी वर्षको वार्षिक विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममाथि छलफलका क्रममा उनले बजेट पुस्तिका च्यातेका हुन् ।
पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले दुई/दुई पटक म्याग्दीलाई अन्याय भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले बजेट पूर्वाग्राही रहेको आरोप लगाए ।
उनले अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म आफ्नो व्यक्तिगत घुमाउने भन्दै कटाक्ष समेत गरे ।
‘म्याग्दीलाई तपाईंहरूले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्रीज्यू मेरो र हरि माननीयको भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । दुई/दुई पटक म्याग्दीलाई अन्याय भएकाले यसको कुनै अर्थ छैन । सभामुखको अनुमति लिएर यो च्यात्न चाहन्छु,’ यति भन्दै उनले रोष्ट्रममै बजेट पुस्तिका च्याते ।