
स्थानीय तहले असार १० गतेभित्र सभा (नगरसभा तथा गाउँ सभा) गरेर बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५३ मा स्थानीय कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको असार १० गतेभित्र नगर र गाउँ सभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
तर, जनप्रतिनिधिको विवादले सुनसरीको धरान उपमहानगरपालिकाको बजेट निर्धारित समयमै आउने सम्भावना कम देखिएको छ । मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र बेघाबीचको अन्तरद्वन्द्वले बजेट नै अनिश्चित बनाएको छ ।
निर्वाचित भएपछि नै मेयर साम्पाङले धरानमा श्रमदान अभियान चलाइरहेका छन् । पछिल्लो समय भने श्रमदानको विषयलाई लिएर मेयर र उपमेयरबीच तनाब भइरहेको छ । अहिले दुवै पक्षले एकअर्काका विरुद्ध प्रचार गर्दै आइरहेका छन् । केही दिनअघि दुवै पक्षले आ-आफ्ना समर्थक बोलाएर उपमहानगरपालिकामा नै तनाब सिर्जना गरेका थिए ।
मंगलबार नगर सभामा बजेट पेस गर्नुपर्ने भएपनि त्यो सम्भावना नरहेको कर्मचारीहरूले बताएका छन् । अहिलेसम्म नगर सभाको तयारीको प्रक्रिया समेत शुरू नभएको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले बताए । बजेटबारे अन्योल रहेको उनको भनाइ छ ।
नगरका प्रवक्ता सूर्यबहादुर (मनोज) भट्टराईले नगर प्रमुखले स्रोत अनुमान समिति तथा कार्यपालिकाको बैठक नराखेका कारण बजेट अनिश्चित भएको बताए । ‘बजेटबारे कुनै छलफल छैन,’ भट्टराईले भने ।