६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोका फेरि पक्राउ परेकी छन् ।
उनी काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले २ लाख रूपैयाँ धरौटी बुझाएर रिहा हुने बित्तिकै पक्राउ परेकी हुन् ।
उनलाई पक्राउ लगत्तै शुद्धीकरण विभाग बुझाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता, एसपी युवराज खड्काले जानकारी दिए । सम्पत्ति शुद्धीकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको एसपी खड्काले बताए ।
रोकालाई सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख रूपैयाँ धरौटी तारेखमा छाड्न आदेश गरेको थियो । उनले अदालतले मागेको धरौटी पनि बुझाइसकेकी थिइन् ।
उनलाई सीआईबीले रोकालाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।
अमला सुन तस्करी प्रकरणमा हाल थुनामा रहेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई खोजिरहेको थियो । उनीविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।
पूर्वउपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष नन्दबहादुर पुनसँग निकट रहेकी अमला दावासँगै सुन तस्करीमा लागेकी थिइन् । माओवादी कार्यकर्ता समेत रहेकी उनी लामो समयदेखि फरार थिइन् ।