
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एउटै मञ्चमा देखिने भएका छन् ।
ओली र भण्डारीबीच तिक्तता बढिरहेको भन्ने हल्लाबीच उनीहरूले एउटै मञ्च शेयर गर्न लागेका हुन् । यसको अवसर जुराएको हो, मदन भण्डारी फाउन्डेसनले ।
यही असार १४ गते दिउँसो १:३० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा हुने कार्यक्रमलाई ओली र भण्डारीले सम्बोधन गर्ने तय भएको फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जनाएकी छन् ।
फाउन्डेसनले त्यस दिन ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहको आयोजना गर्दैछ ।
ओली फाउन्डेसनका संरक्षक हुन् भने विद्या दिवंगत मदनकी पत्नी हुन् । विद्या एमालेको उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी थिइन् । उनी पछिल्लो समय एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा छ ।
यही चर्चामाझ ओली र भण्डारीबीच पटकपटक भेटवार्ता भएपनि सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा भने देखिने अवसर जुरेको थिएन ।
