
विदेशमा रोजगारी दिलाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ बसोबास गर्दै आएकी ३१ वर्षीया नबिना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ स्थायी ठेगाना भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ हाल बस्ने ४३ वर्षीय लछुमन साह तेली रहेका छन्।
घिमिरेले यूके पठाइदिने भन्दै दुई जना पीडितसँग ५२ लाख रूपैयाँ लिएको आरोप छ । तीमध्ये १० लाख रूपैयाँ सम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट र ४२ लाख रूपैयाँसम्बन्धी अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई असार १० गते मंगलबार काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट पक्राउ गरिएको हो।
त्यस्तै, तेलीले कतार पठाइदिने भन्दै तीन जना पीडितसँग ६ लाख रूपैयाँ लिएको आरोप छ । उनलाई आज बुधबार काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरिएको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुले दिएको जानकारीअनुसार दुवै जनामाथि बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्याउँदै सम्पर्कविहीन हुने गरी ठगी गरेको आरोप छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले जानकारी दिए ।