१० साउन २०८३, आइतबार

बेलबारीमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बढ्दै, मेयरकै कार्यकक्षमा झण्डै हात हालाहाल !

असार १२, २०८२
विराटनगर
बेलबारीमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बढ्दै, मेयरकै कार्यकक्षमा झण्डै हात हालाहाल !

मोरङको बेलबारी नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच देखिएको विवाद दिनप्रतिदिन चर्किँदै गएको छ । नगर प्रमुख, उपप्रमुख र कर्मचारी विभाजित भएपछि पालिकामा तनाब बढेको छ । 

विवादको केन्द्रमा रहेको मुख्य विषय भनेको नगरपालिकाको आर्थिक पारदर्शिता हो ।  उपप्रमुख नितु थापा कोइरालाले नगरपालिकाकी लेखा अधिकृत धनमाया राईसँग चालु आर्थिक वर्षमा विनियोजित बजेटको खर्चको विवरण मागेकी थिइन् । लेखा अधिकृत राईले शुरूमा खर्चको विवरण नगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको भन्दै जानकारी दिन अस्वीकार गरेकी थिइन् ।  पछि थापाले प्रिन्ट गरेर दिन भनेपछि विवरण दिएकी थिइन् । 

उपप्रमुख थापाले मसलन्द लगायतका केही शीर्षकमा खर्च बढी भएको देखेपछि थप विस्तृत विवरण माग्दा लेखा अधिकृतले गोपनीयताको हकमा परेको भन्दै जानकारी दिन अस्वीकार गरेको आरोप लगाइन् । 

प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर राजावटले समेत महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक बोलाउँदा क्षेत्राधिकार तोकेको पत्र पठाउने भन्दै सबै विवरण दिन नमिल्ने भनेको उपप्रमुखको आरोप छ । 

यसैबीच, नगरपालिकाका सूचना अधिकारी कृष्ण न्यौपानेले उपप्रमुखले कर्मचारीको तलबको सेड्युल मागेकाले गोपनीयता भनेर लेखा अधिकृतले नदिएको बुझिएको बताए । 

‘मलाई धेरै थाहा छैन । विवाद भएपछि बुझ्दा कर्मचारीको तलबको जानकारी दिन नमिल्ने भनेर भन्नु भएको बुझेको छु’, उनले भने । 

उपप्रमुखलाई लेखा अधिकृतले खर्चको विवरण नदिएपछि बेलबारीका अगुवा तथा स्थानीय बासिन्दा र नगर प्रमुखबीच नोकझोक समेत भएको छ । नागरिक समाजका अगुवा तथा केही युवा नगरपालिकामा पुग्दा गेटमा नगर प्रहरी राखेर उनीहरूलाई प्रवेशमा रोक लगाइएको थियो । 

कांग्रेसका नगर सचिव जनक पोख्रेललाई नगर प्रहरीले कार्यालयमा प्रवेशमा रोक लगाएका थिए । पछि पोख्रेल कार्यालयमा प्रवेश गरे । उनीसँगै आक्रोशित युवाहरू पनि कार्यालयमा छिरेका थिए । 

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।  त्यही बेला नगर प्रमुखले ताला फोडेका थिए । 

ताला फोडेपछि नगर प्रमुख दिल प्रसाद राई कै कार्यकक्षमा पुगेका असन्तुष्ट युवा र नगर प्रमुख राईबीच झण्डै हातपात समेत हुने अवस्था आएको सिर्जना भएको थियो । छलफल चलिरहेको बेला राईले कुर्सीबाट उठेर पोख्रेलमाथि झम्टिन पुगेका थिए । राई आफ्नो कार्यकक्षबाट उठेर गएको भिडियोमा समेत प्रस्ट देखिन्छ । त्यसक्रममा कर्मचारी र नगर प्रहरीले मेयरलाई रोकेका थिए । 

बेलबारीमा यसअघि समेत कर्मचारीको विषयलाई लिएर जनप्रतिनिधि विभाजित भएका थिए । तत्कालीन नगरपालिकाका अधिकृत महेन्द्र खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको भन्दै उनको जिम्मेवारी खोसिएको थियो ।

नगर प्रमुख राईले नै प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका थिए । त्यसबेला पनि उजुरीबारे छानबिन नै नगरी कारबाही गरेको भन्दै उपप्रमुख कोइराला अधिकृत खड्काको पक्षमा देखिएकी थिइन् । खड्का अहिले वन वातावरण तथा पर्यटन मन्त्रालयमा हाजिर भएका छन् ।

नगर प्रमुख राई एमालेका हुन् भने उपमेयर थापा कांग्रेसकी हुन् । माथिल्ला दुई तहका सरकारमा एमाले र कांग्रेस संयुक्त भएपनि  स्थानीय तहमा भने विभाजित नै छन् । 

मेयर राईले यस विषयमा आफूलाई नभएर पत्रकारलाई सोध्न भनेका छन् । उनले त्यहाँ पुगेका पत्रकारलाई समेत बिहीबार भिडियो र फोटो नखिच्न भन्दै आक्रोशित भएका थिए । 

कर्मचारीले भने केही राजनीतिक व्यक्तिको निर्देशनमा कार्यालय परिसरमा प्रवेश गरी कर्मचारीलाई लक्षित गरी अभद्र व्यवहार, धम्की र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । 

आफूहरूलाई शारीरिक र सांघातिक आक्रमण गर्ने धम्की दिइएको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्