
श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट शुरूआत गरे ।
उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्याका नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।
यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौं नेपाली सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन् ।
साथै, श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरूलाई सहज हुने मन्त्री डा. राणाले बताइन् ।
श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।
उनले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने बताए ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।