
अविरल वर्षासँगै आएको बाढीले नुवाकोटको ककनी गाउँपालिका- १ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छिन् ।
बिमचा खोल्सी (कोल्पु खोला)मा आज बिहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बलामीलाई बगाएको हो । हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी लामाका अनुसार बाढीका कारण उनका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएका र उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएको छ । साथै पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।