१० साउन २०८३, आइतबार

विद्यालय शिक्षा विधेयक : प्रारम्भिक बालविकास र निजी विद्यालयको विषयमा सहमति *

असार १३, २०८२
काठमाडौं
विद्यालय शिक्षा विधेयक : प्रारम्भिक बालविकास र निजी विद्यालयको विषयमा सहमति *

लामो रस्सासक्सीपछि विद्यालय शिक्षा विधेयक अन्तर्गत प्रारम्भिक बालविकास र निजी विद्यालयसम्बन्धी विषय संसदीय समितिबाट पारित भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको दोस्रो बैठकले विधेयकको प्रतिवेदनमा मोटामोटी सहमति जनाएको हो । शनिबार दिउँसो बस्ने बैठकले यसलाई पूर्णता दिनेछ ।

कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा मानेर विधेयकको प्रतिवेदनमा सहमति भएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

‘प्रारम्भिक बालविकास सहजकर्ताको पारिश्रमिक सेवा सर्त र सुविधा श्रमसम्बन्धी प्रचलित संघीय कानूनले निर्धारण गरेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी हुनेछ,’ भन्ने विधेयकमा समावेश गरिएको छ ।  

यस्तै, निजी विद्यालयलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने गरी विधेयकमा सहमति जुटेको छ ।

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्ने शिक्षक महासंघसँग भएको सम्झौताअनुसार समितिले सहमति जुटाएको हो ।

अधिकांश विषयमा सहमति जुटेको र प्रतिवेदनमा मिलाउनु पर्ने कतिपय विषयमा सहमति जुटाउन शनिबार दिउँसो १ बजेका लागि बैठक राखिएको सभापति थापाले बताए ।​

शिक्षक महासंघसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी सरकारले सहमति गरेको थियो ।

सहमति पालन हुनुपर्ने मिति गुज्रिन लाग्दा संसदीय समितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएको हो ।

समितिमा सहमति भएर प्रतिवेदन सभामा गएपछि प्रतिनिधिसभाबाट विधेयक पारित हुनेछ । त्यसपछि राष्ट्रियसभाबाट पनि विधेयक पारित भएपछि मात्र कार्यान्वयनमा जानेछ ।

विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै शिक्षकहरूले वैशाखमा एक महिना काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए ।​

* शीर्षक सच्चाइएको​​

salt training

कमेन्ट गर्नुहोस्