०६ साउन २०८३, बुधबार
कांग्रेसमा सदस्यता किचलो

गगनले मानेका थिए प्रतिष्ठा, अहिले आफैं प्रस्तुत गरे निराशाका 'डाटा'​

असार १६, २०८२
काठमाडौं
गगनले मानेका थिए प्रतिष्ठा, अहिले आफैं प्रस्तुत गरे निराशाका 'डाटा'​

महाधिवेशन पूर्व नै क्रियाशील सदस्यताको नवीकरण सकाउने विषयलाई कांग्रेस महामन्त्री गगन थापाले प्रतिष्ठा मानेका थिए । तर पटक-पटक समय थपेर क्रियाशील सदस्यता नवीकरण गर्न खोज्दा पनि सम्भव भएन । यसका लागि महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन पनि गरियो । समितिले पटक-पटक गरी असार मसान्तसम्मलाई अन्तिम भाका दियो । त्यतिखेरसम्म पनि सदस्यता नवीकरण नटुंग्याए १५ औं महाधिवेशनमा भाग लिन नदिने चेतावनी पनि समितिले दियो ।

तर ९ महिनापछि बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा थापाले सदस्यता नवीकरणमा भएको प्रगति सन्तोषजनक देखिएन । प्रतिष्ठा मानेको विषयमा थापा आफैंले निराश नतिजाका तथ्यांक प्रस्तुत गरे ।

बैठकको प्रमुख एजेन्डा रहेको सदस्यताका विषयमा थापाले 'स्लाइड सो'बाटै प्रगति विवरण प्रस्तुत गरेका थिए । 

जसमा सबै जिल्ला र जनसम्पर्क समितिमा गरी ८ लाख ७० हजार ८ सय ८४ सदस्यता फारम पठाइएको तथ्यांक उनले प्रस्तुत गरे । सदस्यताको नवीकरणका लागि २०७९ चैत २२ गतेदेखि फाराम पठाइएको थापाको भनाइ छ । 

तर असार १२ गतेसम्मको अपडेटअनुसार ७७ मध्ये ५ वटा जिल्लाले मात्रै सदस्यता नवीकरण टुंग्याएर केन्द्रीय प्रणालीमा अपडेट गराएको थापाले उल्लेख गरेका छन् । जसमा गोरखा, अर्घाखाँची, रोल्पा, बैतडी र अर्को एक जिल्लाले मात्रै सदस्यता नवीकरणको प्रक्रिया टुंग्याएका हुन् ।

यी जिल्लाले जेठको पहिलो साता नै सदस्यता टुंग्याएका थिए । अपडेट सिस्टममा १५ जिल्लाको प्रविष्ट भइरहेको, १० जिल्ला प्रक्रियामा रहेको, ३३ वटा जिल्लामा वडाबाट जिल्लामा नवीकरणको फारम संकलन भइरहेको तथ्यांक थापाले पेस गरेका हुन् । 

null

जबकि वैशाखसम्म र त्यसपछि असार मसान्तसम्मको बाध्यकारी समय थापा संयोजकत्वको समितिले दिएको थियो । यस अघि पनि नवीकरणमा समस्या भएका जिल्ला १४ वटा देखाइएको थियो । काठमाडौं, सिराहा, सर्लाही, बारा, महोत्तरी, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासी, ओखलढुंगा र खोटाङसहितका जिल्लामा विवाद छ ।

लामो समय हुँदा पनि थापाले यी सबै जिल्लामा समस्या रहेको जनाएका छन् । अनुशासन समितिको कारबाहीको प्रक्रिया नटुंगिँदा पनि समस्या भएको थापाको भनाइ थियो ।

पार्टीको निर्णयअनुसार अघिल्लोपटकका सदस्य संख्याको २५ प्रतिशत नयाँ क्रियाशील सदस्यता फाराम पनि जिल्लामा पठाएको थापाले उल्लेख गरेका छन् । जसको लागि २ लाख १७ हजार ९०१ नयाँ सदस्यताको फाराम जिल्लामा पठाइएको छ । यसमध्ये १७ वटा जिल्लाले मात्रै फाराम वडामा पठाएको जानकारी केन्द्रमा गराएका छन् । दोलखाबाहेक कुनै पनि जिल्लाबाहेक कुनै पनि नयाँ क्रियाशील सदस्यता वितरण शुरू गरेको जानकारी गराएका छैनन् । 

साथै थापाले ‘हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नका लागि सबै जिल्लालाई जानकारी गराइएको’ पनि उल्लेख गरेका छन् । जनसम्पर्क समितिको हकमा सदस्यताको व्यवस्था गरी सदस्यता फाराम वितरण प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । 

२०८१ कात्तिक १४ गते सभापति देउवाले थापा संयोजकत्वमा चार सदस्यीय क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेका थिए । समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य छन् । तर यसै समितिले पटकपटक ताकेता गरे पनि महिनौसम्म सदस्यताको विषय टुंग्याउन नसकेको हो । 

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी निर्वाचनको अन्तर्घातविरुद्ध परेका उजुरीका कारण क्रियाशील सदस्यमा ढिलाइ भएको बताउँछन् । ‘अनुशासन समितिमा २१ सय उजुरी छन् । कारबाहीको सिफारिसमा केन्द्रीय सदस्य, सभापति, क्षेत्रीय सभापति, पालिका सभापति, वडा सभापतिसम्म छन्,’ सिवाकोटीले भने, ‘यो कुरा सम्बोधन नभई सदस्यता नवीकरण हुँदैन । महामन्त्रीले पनि पहिले कुरा टुंगो लगाउनुस् भन्नुभएको छ । महामन्त्रीको कुरामा शेखर कोइरालाले पनि अनुशासन समितिलाई कामकाजी बनाउनुस् भन्नुको मतलब यही हो ।’ 

बैठकमा डा. शेखर कोइरालाले क्रियाशील सदस्यता नवीकरणमा यस्तै गरी विलम्ब हुने हो भने महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताएका थिए । ‘पटक-पटक समय दिँदा पनि क्रियाशील सदस्यता नवीकरणमा प्रगति भएको छैन,’ शेखरले बैठकमा भनेका थिए, ‘महाधिवेशन नै सुनिश्चित नभएपछि साथीहरूले सदस्यता नवीकरणमा सक्रियता देखाएनन् । यसैले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरौं ।’

शेखरले गठबन्धनको संस्कृतिले कांग्रेस कमजोर भएको पनि बताए । त्यस्तै, अनुशासन समितिको नाममा कोहीमाथि पत्र काट्ने, कोही केन्द्रीय सदस्यलाई छुँदै नछुने स्थिति रहेको भन्दै उनले आक्रोश पोखेका छन् ।

बैठकमा महामन्त्री थापाले नेविसंघ बाहेकका चार भ्रातृ संस्थाको महाधिवेशनको मिति उनीहरूबाटै प्रस्ताव भएर आएको बताएका छन् । जसअनुसार किसान संघले भदौ ३ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ गते, थारू संघले असोज २५ गते र तरुण दलले मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका उनले उल्लेख गरेका थिए ।

null

तर नेता शेखरले जति समय दिए पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न नसक्ने बताए । 

शेखरले महाधिवेशन गर्न ढिलाइ भए पनि पदाधिकारीहरू देश दौडाहामा हिँडेको भन्दै महामन्त्री थापाप्रति व्यंग्य गरे । ‘हामी अहिले महाधिवेशनको वर्षमा छौं । २०८२ सालको मंसिर महिनामै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु,’ शेखरले भने, ‘यदि हुन सक्दैन भने के कारण र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्‍यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’

उपचुनावमा पर्सामा लोसपा र बारामा उपेन्द्र यादवलाई निर्वाचन क्षेत्र छोड्नुको जवाफ पार्टीले दिनुपर्ने उनको भनाइ छ । यस्तै अवस्थाले मधेशमा कांग्रेस बढारिने शेखरले चेतावनी दिए ।

पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाको महाधिवेशन, सरकारको कार्यसम्पादनमा कांग्रेसका मन्त्रीको प्रतिवेदन, सांसदको भूमिकासहित गरी १३ वटा प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएका थिए । 

सोमबारको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले धारणा राखेका छन् ।

बैठक मंगलबार ११ बजे पुन: बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्