
गण्डकी प्रदेश सरकारले आगाामी आवदेखि बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स र गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) विषयको पढाइ सुरु गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँगको सहकार्यमा ती विषयको पठनपाठन सुरु गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।
“एसइईको नतिजा आइसकेको छ, साउनदेखि नै पढाइ सञ्चालन गर्ने गरी तयारी अगाडि बढाइएको छ”, उनले भने “यसका लागि स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजित गरिसकेको छ, मन्त्रिपरिषद्बाट निर्णय भएकाले अब यो कार्यान्वयनमा जान्छ ।” यसका लागि स्वास्थ्य मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले दुवै विषयको पढाइ सुरु गर्न कुनै समस्या नरहेको स्वास्थ्यमन्त्री पाठकले बताए ।