०३ साउन २०८३, आइतबार

अल–हिलालसँग स्तब्ध बन्यो साविक विजेता म्यानचेस्टर सिटी

असार १७, २०८२
काठमाडौं
अल–हिलालसँग स्तब्ध बन्यो साविक विजेता म्यानचेस्टर सिटी

युरोपियन फुटबलको प्रभावशाली क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । क्लब विश्वकपको साविक विजेतासमेत रहेको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरेबियन क्लब अल–हिलालसँग ४–३ गोलले पराजित भएको हो । 

म्यानचेस्टर सिटी र अल–हिलालबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अन्तत: अतिरिक्त समयमा बलियो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अल–हिलाल क्वार्टरफाइनलमा पुग्न सफल भयो । 

खेलमा शुरूआती अग्रता भने म्यानचेस्टर सिटीले लिएको थियो । खेल शुरू भएको नवौँ मिनेटमा म्यान सिटीका लागि बेनार्डो सिल्भाले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा म्यान सिटी अगाडि रह्यो ।

खेलको दोस्रो हाफमा भने दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । निर्धारित समयको ४६औँ मिनेटमा अल–हिलालका लागि मार्कोस लियोनार्दोले जवाफी गोल गरे । ५२औँ मिनेटमा माल्कोम ओलिभेराले अल–हिलाललाई २–१ गोलको अग्रता दिलाए । 

यसैगरी, ५५औँ मिनेटमा म्यान सिटीका लागि अर्लिङ हालान्डले दोस्रो गोल गरे । ९४औँ मिनेटमा कालिदु कुलिबलीले अल–हिलालका लागि तेस्रो गोल थपे । १०४औँ मिनेटमा म्यान सिटीका लागि फिलिप फोडेनले तेस्रो गोल फर्काए ।

खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा निर्धारित समयको ११२औँ मिनेटमा अल–हिलालका लागि मार्कोस लियोनार्दोले निर्णायक गोल गरेका थिए । उक्त खेलमा मार्कोसले व्यक्तिगत रुपमा गरेको यो दोस्रो गोल थियो । 

ब्राजिलियन क्लब फ्लुमिनेस, ब्राजिलकै पाल्मिरस, इङ्ल्यान्डको चेल्सी, फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मनीको बायर्न म्युनिख भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् । रियल म्याड्रिड र युभेन्ट्स तथा बोरुसिया डर्टमन्ड र मोन्टेरीबीचको खेलपछि क्वार्टरफाइनलमा पुग्ने सातौँ र आठौँ टोलीको टुंगो लाग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्