
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा (एमाले) आफूहरूको प्रतिद्वन्द्वी पार्टी भएको भन्दै अर्को गठबन्धनको लागि पनि तयार हुनुपर्ने बताएकी छिन् ।
केन्द्रीय समितिको बैठकमा धारण राख्दै डिलाले सरकारमा बसेर राम्रो कामको जस पनि लिन नपाएको भन्दै फरक विकल्पको लागि पनि तयार हुनुपर्ने बताएकी हुन् ।
‘वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन । कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ । सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर, नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ । केही नेताहरू सधैं मन्त्री हुने भ्रममा छन्, जुन गलत हो,’ उनले भनिन्, ‘मेरो प्रस्ताव सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन पार्टीले स्पष्ट रणनीति बनाउनुपर्छ । आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिद्वन्द्वी भएकाले आवश्यक परे एमालेबाहेक गठबन्धन बनाउन पनि हामी सक्रिय हुनु पर्छ ।’
उनले पार्टीको एक सय दिने अभियानको क्रममा तल्लो तहसम्म गुटबन्दी बढेको, जनप्रतिनिधिसँग पार्टीका दुरी बढेको र भ्रातृ संस्थाका बेहाल हुँदा असन्तुष्टि रहेको बताइन् ।
तोकिएको समयमा महाधिवेशन गर्ने भए क्रियाशील सदस्य नवीकरण र वितरणमा कडाइ गर्न उनले सुझाएकी छिन् ।
अलपत्र भ्रातृ संस्थालाई व्यवस्थित गर्न, एक्लै चुनाव लड्नेगरी वातावरण बनाउन, पार्टीका विभाग र पेशागत संगठन संगठनलाई रचनात्मक बनाउन पनि उनले आग्रह गरेकी छिन् ।
‘नेविसंघ, तरुण दल, र महिला संघजस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेको छ । केही नेतृत्वले म्याद थप्दा पनि अधिवेशन गर्न नसक्नु र पद जोगाउने चिन्ताले समस्या निम्त्याएको छ,’ डिलाले भनेकी छ, ‘महाधिवेशन निर्देशन समितिको भूमिका पनि प्रभावकारी देखिएन । मेरो सुझाव भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल स्पष्ट कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ । यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ ।’