
पछिल्लो समय विराटनगर क्षेत्रमा चोरीका घटनाहरू बढ्न थालेका छन् । घटनाले स्थानीय त्रसित बन्न थालेका छन् । चोरीका घटनामा लागुऔषध प्रयोगकर्ताहरूको संलग्नता अधिक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाको कोठाबाट समेत मोबाइल चोरी भएको छ । गत वैशाख २७ गते उनको कोठाबाट दुई वटा मोबाइल चोरी भएको मोरङ प्रहरीले जनाएको छ । झापा स्थायी घर भएका उनी विराटनगरमै कोठा भाडामा बस्छन् ।
प्रहरीको अनुसन्धानबाट विराटनगर महानगरपालिका वडा नम्बर २ सरस्वती टोल बस्ने ३० वर्षीय सुमन तोलाङीले थापाको कोठाबाट चोरी गरेको खुलेको छ । दुई वटै मोबाइल भारत लगेर बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले यसअघि पनि वैशाख १९ गते मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ बस्ने नवराज भट्टराईको घरबाट सुनका गहनाहरू चोरी गरेका थिए । घरको चाबी फुटाएर दराज भित्र राखेको सुनको तिलहरीलगायतका गहना उनले लगेका थिए ।
तोलाङीले पूर्वमुख्यमन्त्री थापाको कोठा फुटाएकै दिन विराटनगर ३ बरगाछीस्थित पार्टी प्यालेस सञ्चालकको कोठाबाट पनि दुई लाख नगद र सुनका गहनाहरू चोरी गरेका थिए । उनले सुनको सिक्री, सुनको बाला र औँठीलगायतका गरगहना चोरेका थिए ।
तोलाङीलाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
०००
गत जेठ ६ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका २२ वर्षीय दीपेश तामाङ विराटनगरमा विभिन्न व्यक्तिहरूको घर र वरिपरिका सामानहरू चोरी गर्दै गरेको अवस्थामा पक्राउ परे ।
गत वैशाख ११ गते मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ स्थित राज मोबाइल केयर पसलमा अज्ञात व्यक्तिहरूले ल्यापटप, एन्ड्रोइड मोबाइलहरू र मर्मतका लागि ल्याइएका पुराना मोबाइलहरू चोरी गरेका थिए ।
मोरङको धनपालथान वडा नम्बर ७ बस्ने २२ वर्षीय विशालकुमार सिंहलाई गत जेठ २७ गते प्रहरीले पक्राउ गर्यो । पक्राउ परेपछि सिंहले चोरीका सामान विराटनगर महानगरपालिका वडा नम्बर ११ मा डेरा गरी बस्ने २६ वर्षका रोशनकुमार मण्डलको कोठामा लुकाएर राखेको बताएका थिए ।
प्रहरीले मण्डलको कोठामा तलासी गर्दा कोठाभित्र लुकाएर राखेको अवस्थामा विभिन्न कम्पनीका नयाँ मोबाइल सेट, पुराना मोबाइल सेट र चोरी कार्यमा प्रयोग हुने औजारहरू (ड्रिल मशिन, हथौडा, रड, पेचकस, पिलास लगायत)का सामग्री बरामद गरेको थियो ।
मण्डल र उनको कोठामा सँगै रहेका भारत अररिया जिल्लाका १८ वर्षका कृष पासवानलाई समेत पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार जोगवनी नाकामा सुरक्षा व्यवस्था कडा गरेपछि विराटनगर क्षेत्रमा चोरीका घटनाहरू बढेको पाइएको छ । प्रहरीको अनुसन्धानले यी घटनाहरूमा लागुऔषध प्रयोगकर्ताहरूको मुख्य संलग्नता रहेको देखाएको छ ।
प्रहरी स्रोतका अनुसार नाकामा कडाइ हुनुअघि यी व्यक्तिहरूले सामान ओसारपसार गरेर १०००/१५०० कमाउने गर्थे, तर नाका कडा भएपछि उनीहरू चोरीमा संलग्न भएका हुन् ।
चोरीमा दुई वटा फरक समूहको संलग्नता देखिएको छ ।
पहिलो समूहले बन्द घर देख्ने बित्तिकै तोडफोड गरेर हिँडिहाल्छ भने दोस्रो समूहले पहिलेदेखि नै नियालेर घरमा पसेपछि नगद, सुन र चाँदी मात्रै लिएर हिँड्छ । दोस्रो समूहले घरमा छिरेको दुई/तीन घण्टासम्म लगाएर सामग्री खोज्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एसपी चिमरियाका अनुसार चोरीमा संलग्न अधिकांश व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता हुन् ।
प्रयोगकर्ताहरूले लागुऔषधको लत लागेपछि यस्ता आपराधिक गतिविधिमा संलग्न हुने गरेको उनको भनाइ छ ।